लाइका फाइभ एक्स क्यामेरा र ६,५००mAh ब्याट्रीसहित शाओमी १७ टी नेपालमा सार्वजनिक

  • कालिका खवर
  • बिहिबार, जेष्ठ २८, २०८३
  • काठमाडौं । शाओमीले नेपाली बजारमा आफ्नो नयाँ प्रिमियम स्मार्टफोन शाओमी १७ टी सार्वजनिक गरेको छ। लाइका फाइभ एक्स टेलिफोटो क्यामेरा, ६,५००mAh क्षमताको ब्याट्री र ‘भिजन केयर’ डिस्प्ले प्रविधिसहित ल्याइएको यो स्मार्टफोन आधुनिक प्रयोगकर्ताको आवश्यकता लक्षित गरी बजारमा ल्याइएको कम्पनीले जनाएको छ।

    कम्पनीका अनुसार शाओमी १७ टी मा अत्याधुनिक लाइका फाइभ एक्स टेलिफोटो क्यामेरा प्रणाली समावेश गरिएको छ। फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ, जसले उच्च गुणस्तरका तस्वीर खिच्न सक्ने दाबी गरिएको छ। साथै, अप्टिकल इमेज स्टेबलाइजेसन (ओआईएस) सुविधायुक्त ५० मेगापिक्सेल टेलिफोटो क्यामेराले १० गुणासम्म अप्टिकल जुम तथा १२० गुणासम्म एआई जुम सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ।

    फोनमा फोरके ६० फ्रेम प्रति सेकेन्ड सिनेमाटिक भिडियो रेकर्डिङ सुविधा रहेको छ। ‘लाइभ मोमेन्ट’ फिचरले दृश्यका भाव, गति र अभिव्यक्तिलाई थप जीवन्त रूपमा कैद गर्न सहयोग गर्ने कम्पनीको भनाइ छ।

    शाओमी १७ टी मा १.५५ इन्चको ठूलो इमेज सेन्सर र लाइका सुमिलक्स लेन्स संरचना प्रयोग गरिएको छ, जसले तस्वीरको स्पष्टता र रंगको गहिराइ बढाउने दाबी गरिएको छ। ‘लाइभ पोर्ट्रेट’ सुविधाले प्राकृतिक पृष्ठभूमि ब्लर प्रभावसहित आकर्षक पोर्ट्रेट तस्वीर खिच्न सहयोग गर्ने कम्पनीले जनाएको छ।

    डिस्प्लेमा पहिलो पटक ‘भिजन केयर’ प्रविधि समावेश गरिएको छ। ३,५०० निट्ससम्मको उच्च ब्राइटनेस क्षमतायुक्त एमोलेड स्क्रिनले वातावरणअनुसार प्रकाश समायोजन गर्दै आँखाको सुरक्षा गर्ने कम्पनीको दाबी छ। साथै, यो स्मार्टफोनले टीयूभी राइनल्याण्ड प्रमाणपत्र समेत प्राप्त गरेको बताइएको छ।

    फोनमा ६,५००mAh क्षमताको ब्याट्री र ६७ वाट फास्ट चार्जिङ सुविधा उपलब्ध छ। कम्पनीका अनुसार अघिल्लो पुस्ताको तुलनामा ब्याट्री क्षमता १८ प्रतिशतले बढाइएको छ।

    प्रदर्शनका लागि स्मार्टफोनमा मिडियाटेक डाइमेन्सिटी ८५०० अल्ट्रा प्रोसेसर प्रयोग गरिएको छ। यसले गेमिङ, मल्टिटास्किङ तथा एआई आधारित कार्यलाई सहज र प्रभावकारी बनाउने कम्पनीको दाबी छ।

    नेपालमा शाओमी १७ टी बैजनी, निलो र कालो गरी तीन रंगमा उपलब्ध हुनेछ। १२ जीबी र्याम र ५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य ९८ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ।

    साथै, यो स्मार्टफोन खरिद गर्ने ग्राहकले रेडमी बड्स ६ प्ले निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar