नाडा अटो शोमा रिभोल्टको नयाँ आरभीएक्स सार्वजनिक, मूल्य ३.९९ लाखबाट

  • कालिका खवर
  • मङ्लबार, भदौ ९, २०८३
  • काठमाडौं । नेपालका लागि रिभोल्ट मोटर्सको आधिकारिक वितरक एमभी दुगड ग्रुपले काठमाडौँमा जारी नाडा अटो शो २०२६ मा नयाँ आरभीएक्स इलेक्ट्रिक बाइक सार्वजनिक गरेको छ।

    रिभोल्ट मोटर्सको सबैभन्दा शक्तिशाली तथा प्रविधियुक्त इलेक्ट्रिक बाइकका रूपमा आरभीएक्सलाई प्रस्तुत गरिएको हो। सीमित अवधिका लागि आरभीएक्सको सुरुवाती मूल्य ३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। नाडा अटो शोमा रहेको रिभोल्ट पेभिलियन तथा काठमाडौंको पानीपोखरीस्थित रिभोल्टको फ्ल्यागसिप शोरुमबाट बुकिङ र टेस्ट राइड खुला गरिएको कम्पनीले जनाएको छ।

    आरभीएक्समा ४ किलोवाटको मिड–ड्राइभ पीएमएसएम मोटर रहेको छ। यसले ५.३ किलोवाटको पिक पावर र ह्विलमा २३० एनएमसम्मको टर्क उत्पादन गर्छ। बाइकले ० देखि ४० किलोमिटर प्रतिघण्टाको गति ३.९ सेकेन्डमा हासिल गर्ने तथा बुस्ट मोडमा अधिकतम ९० किलोमिटर प्रतिघण्टाको गति प्राप्त गर्ने कम्पनीको दाबी छ।

    बाइकमा ३.२४ किलोवाट आवरको रिमुभेबल एनएमसी ब्याट्री प्रयोग गरिएको छ। यसले एकपटक पूर्ण चार्जमा १६० किलोमिटरको आईडीसी रेन्ज दिने जनाइएको छ। फास्ट चार्जरमार्फत ब्याट्रीलाई ८० मिनेटमा ० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।

    आरभीएक्समा बुस्ट, स्पोर्ट्स, सिटी र इको गरी चारवटा राइडिङ मोड रहेका छन्। त्यस्तै, अपसाइड–डाउन फ्रन्ट फोर्क र रियर मोनो–शक, ३.५ इन्चको आईपी६७ रेटेड डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, टेलिम्याटिक्स, जियो–फेन्सिङ तथा ओटीए अपडेटको सुविधा दिइएको छ।

    बाइकमा कल तथा म्यासेज नोटिफिकेसन, हिल होल्ड असिस्ट, रिभर्स मोड, वाक असिस्ट, इम्मोबिलाइजर र भेहिकल लोकेटरलगायतका सुविधा छन्। आरभीएक्स पर्ल ब्ल्याक, इलेक्ट्रिक ब्लु र इक्लिप्स रेड गरी तीन रङमा उपलब्ध हुनेछ।

    सार्वजनिक कार्यक्रममा एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडले नेपाली राइडरका लागि विद्युतीय गतिशीलताको उत्कृष्ट प्रविधि ल्याउने प्रतिबद्धताको परिणाम आरभीएक्स भएको बताए। उनका अनुसार आरभीएक्सले इन्धनको बढ्दो मूल्य र वातावरणीय चुनौतीका बीच किफायती तथा दिगो विकल्प प्रस्तुत गर्नेछ।

    रतनइन्डिया इन्टरप्राइजेज लिमिटेडकी अध्यक्ष अञ्जली रतनले नेपाल रिभोल्ट मोटर्सका लागि महत्वपूर्ण रणनीतिक बजार रहेको बताउँदै आरभीएक्सले कम्पनीको इन्जिनियरिङ र नवप्रवर्तनलाई प्रतिनिधित्व गर्ने बताइन्।

    सोही अवसरमा रिभोल्ट र एमभी दुगड ग्रुपले ‘नेपाल गर्छ रिभोल्ट’ ब्रान्ड अभियान पनि सार्वजनिक गरेका छन्। अभियानले आत्मविश्वासी, महत्त्वाकांक्षी र आफ्नै शैलीमा अघि बढ्न चाहने नेपाली राइडरलाई लक्षित गरेको कम्पनीले जनाएको छ।

    आरभीएक्सको डेलिभरी नेपालभर विस्तार भइरहेको रिभोल्टको शोरुम नेटवर्कमार्फत सुरु गरिनेछ। वीरगन्ज, जनकपुर, पोखरा, विराटनगर, नेपालगन्ज, बुटवल र धनगढीलगायतका शहरमा रहेका शोरुममा बाइक उपलब्ध हुने कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar