रसुवा बाढीमा उद्धार : स्निफर डग, ड्रोन र हेलिप्याड तयार गर्दै सशस्त्र प्रहरी

  • कालिका खवर
  • बुधबार, भदौ १०, २०८३
  • काठमाडौँ । रसुवा बाढीमा परेका नागरिकको उद्धारका लागि रसुवा, नुवाकोट, धादिङ र चितवनस्थित सशस्त्र प्रहरी बल नेपालका युनिटहरूबाट उद्धार सामग्रीसहित टोलीहरू परिचालन भएका छन्। तयारी अवस्थामा राखिएका आपत्कालीन राहत तथा उद्धार सामग्रीसहितका ‘डिजास्टर रिलिफ सिस्टम’ (डीआरएस) कन्टेनरहरू बाढी प्रभावित क्षेत्रमा तत्काल पुर्‍याउने कार्य भइरहेको छ। अन्य क्षेत्रमा रहेका कन्टेनरहरूलाई समेत प्रभावित क्षेत्रतर्फ केन्द्रित गरी पठाइएको छ।

    बाढीमा परी घाइते भएकाहरूको तत्काल प्राथमिक उपचारका लागि ‘मास क्याजुअल्टी भेहिकल’ (एमसीभी) सहितको चिकित्सा तथा उद्धार टोली क्षेत्रमा खटाइएको छ। नदी किनार तथा जोखिमयुक्त बस्तीहरूमा सशस्त्र प्रहरीको गस्ती टोलीले साइरन बजाएर र माइक मार्फत सूचना दिँदै सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ। घाइतेहरूको उपचारका लागि नेपाल एपीएफ अस्पतालमा शय्याहरू तयारी अवस्थामा राखिएका छन्।

    आपत्कालीन उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरहरूको सुरक्षित उडान तथा अवतरण सुनिश्चित गर्न ‘ल्यान्डिङ जोन’हरू तयार पारिएका छन्। रसुवागढी भन्सार तथा यार्ड क्षेत्रमा पुरिएका व्यक्तिहरूको खोजीका लागि सशस्त्र प्रहरी बलको ‘के-नाइन’ स्निफर कुकुर टोली परिचालन गरिएको छ।

    हराइरहेका नागरिकको स्थिति पत्ता लगाउन र क्षतिको मूल्याङ्कन गर्न ड्रोन परिचालन गरिएको छ। विस्थापित शिविरहरूमा हैजा तथा पानीजन्य रोग फैलन नदिन आपत्कालीन खानेपानी शुद्धीकरण र औषधि वितरण सुरु गरिएको छ। भोटेकोशी तथा त्रिशूली नदीको माथिल्लो तटीय क्षेत्रमा थुनिएको हिमपहिरो एक्कासी खुल्न सक्ने वा थप बाढी आउन सक्ने जोखिमको पूर्वसूचना पाउन चिनियाँ समकक्षी सुरक्षा निकायहरूसँग निरन्तर समन्वय र सूचना आदान-प्रदान भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar