भक्तपुरका दुई डेरी उद्योगमा खाद्य प्रविधि विभागको अनुगमन, दूधको नमुना संकलन

  • कालिका खवर
  • बुधबार, भदौ १०, २०८३
  • भक्तपुर । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुरका दुई डेरी उद्योगमा बजार अनुगमन तथा निरीक्षण गरेको छ। विभागले २०८३ भदौ ८ गते गरेको अनुगमनका क्रममा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम आवश्यक निर्देशन दिँदै थप अनुसन्धानका लागि दूधको नमुना संकलन गरेको जनाएको छ।

    अनुगमनका क्रममा इन्द्रायणी डेरी प्रा.लि., भक्तपुर–२ मा कर्मचारीको व्यक्तिगत सरसफाइ सन्तोषजनक नरहेको, सरसफाइ सामान्य रहेको, कीट नियन्त्रणको व्यवस्था नभएको तथा प्रयोगशाला अव्यवस्थित रहेको पाइएको विभागले जनाएको छ।

    उक्त डेरीलाई नियमित सरसफाइ गर्न, कीट नियन्त्रणलाई व्यवस्थित बनाउन र प्रयोगशाला व्यवस्थित गर्न निर्देशन दिइएको छ। साथै, थप अनुसन्धानका लागि प्रयोगशाला परीक्षण गर्न दूधको नमुना समेत संकलन गरिएको विभागले जनाएको छ।

    त्यस्तै, जगदम्बा डेरी फुड एण्ड बेभरेज प्रा.लि., भक्तपुर–२ मा सरसफाइ सामान्य रहेको भए पनि कर्मचारीको व्यक्तिगत सरसफाइ भने सन्तोषजनक पाइएको छ। उद्योगको भण्डारण तथा प्रशोधन कक्षसमेत व्यवस्थित अवस्थामा रहेको अनुगमन टोलीले जनाएको छ।

    उक्त उद्योगलाई नियमित सरसफाइ गर्न निर्देशन दिइनुका साथै थप अनुसन्धानका लागि प्रयोगशाला परीक्षण गर्न दूधको नमुना संकलन गरिएको छ।

    विभागका अनुसार अनुगमन गरिएका दुवै खाद्य व्यवसायमा खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी अवस्थाको निरीक्षण गरिएको हो। अनुगमनसम्बन्धी विवरण वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माले २०८३ भदौ १० गते सार्वजनिक गरेकी हुन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar