भक्तपुरका दुई खाद्य व्यवसायमा अनुगमन, सरसफाइ र कीट नियन्त्रण सुधार गर्न निर्देशन

  • कालिका खवर
  • बुधबार, भदौ १०, २०८३
  • काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, काठमाडौंसहितको संयुक्त टोलीमार्फत भक्तपुरका दुई खाद्य व्यवसायमा अनुगमन तथा निरीक्षण गरेको छ।

    २०८३ भदौ ८ गते गरिएको अनुगमनका क्रममा श्रीराम एण्ड गोविन्द बाबा एग्रो इन्डस्ट्रिज (शाखा), मध्यपुर थिमी नगरपालिका–१ मा कीट नियन्त्रणको व्यवस्था सन्तोषजनक नरहेको पाइएको छ। उक्त व्यवसायमा दाल, चामल, तेल, मस्यौरा लगायतका खाद्य पदार्थ बिक्री–वितरणका लागि राखिएको तथा केही खाद्य पदार्थका बोरा टुटफुट भएको समेत पाइएको विभागले जनाएको छ।

    अनुगमनपछि व्यवसायलाई नियमित सरसफाइ गर्न, कीट नियन्त्रणको व्यवस्था थप प्रभावकारी बनाउन तथा खाद्य पदार्थ उचित तरिकाले भण्डारण गर्न निर्देशन दिइएको छ।

    त्यस्तै, के.एल. दुगर ग्रुपअन्तर्गत सौरभ फूड प्रोडक्ट्स प्रा.लि. मा पनि अनुगमन गरिएको छ। निरीक्षणका क्रममा उद्योगको सरसफाइ सन्तोषजनक नरहेको र कीट नियन्त्रणको व्यवस्था प्रभावकारी नभएको पाइएको विभागले जनाएको छ।

    उद्योगमा प्यालेटमा खाद्य पदार्थ भण्डारण गर्दा उचित उचाइ तथा भित्ताबाट आवश्यक दूरी कायम नगरी भण्डारण गरिएको समेत भेटिएको थियो। त्यसपछि विभागले खाद्य स्वच्छता कायम गर्न, कीट नियन्त्रणको व्यवस्था प्रभावकारी बनाउन तथा खाद्य पदार्थ उचित तरिकाले भण्डारण गर्न निर्देशन दिएको छ।

    खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी अवस्थाको सुधारका लागि आवश्यक निर्देशन दिँदै विभागले दुवै व्यवसायलाई अनुगमनका क्रममा देखिएका कैफियत तत्काल सुधार गर्न आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar