बजाजको विद्युतीय स्कुटर ‘चेतक ३५०१’ नेपालमा सार्वजनिक, बुकिङ खुला

  • कालिका खवर
  • सोमवार, साउन १९, २०८२
  • काठमाडौं । विश्वप्रसिद्ध दुईपांग्रे र तीनपांग्रे सवारीसाधन निर्माता बजाज अटो लिमिटेडले नेपालमा आफ्नो अत्याधुनिक विद्युतीय स्कुटर चेतक ३५०१ सार्वजनिक गरेको छ। भारतबाहिर पहिलोपटक नेपालमा लञ्च गरिएको चेतकको नयाँ संस्करणले बजाजको विद्युतीय मोबिलिटी अभियानलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गरेको संकेत गरेको छ।

    बजाजका अनुसार चेतक ३५०१ स्कुटरमा ३.५ किलोवाट–आवर क्षमताको ब्याट्री जडान गरिएको छ, जसले एकपटक पूर्ण चार्जमा १५३ किलोमिटरसम्मको यात्रा गर्न सक्ने दाबी गरिएको छ। स्मार्ट चार्जिङ प्रणालीमार्फत यो स्कुटर ३ घण्टामा ८० प्रतिशत चार्ज गर्न सकिन्छ। नेपालका शहरी तथा उपशहरी सडक सञ्जाल र भौगोलिक अवस्थालाई लक्षित गर्दै स्कुटरको डिजाइन गरिएको हो।

    स्कुटर पूर्ण मेटल बडीमा निर्माण गरिएको छ र IP67 वाटर रेसिस्टेन्ट गुणस्तरले यसलाई वर्षा वा नमीयुक्त वातावरणमा पनि सुरक्षित बनाएको छ। यसको ब्याट्री फ्लोरबोर्डमा राखिएको छ जसले स्कुटरमा ३५ लिटरको विशाल अन्डर–सिट स्टोरेजको सुविधा उपलब्ध गराउँछ। यो सुविधा विद्युतीय स्कुटर सेग्मेन्टमै सबैभन्दा ठूलो मानिन्छ।

    चेतक ३५०१ मा स्मार्ट टीएफटी टचस्क्रिन, म्याप, म्युजिक कन्ट्रोल, कल ह्यान्डलिङ, रिमोट इम्मोबिलाइजेसन, जियो–फेन्सिङ, एन्टि–थेफ्ट अलार्म, दुर्घटना पहिचान प्रणालीजस्ता अत्याधुनिक फिचरहरू पनि उपलब्ध छन्। टेकप्याक एड–अन मार्फत यी सबै फिचरहरू प्रयोग गर्न सकिनेछ, जसले स्कुटरलाई अझै प्रविधिमैत्री बनाएको छ।

    लञ्च समारोहमा बजाज अटो लिमिटेडका एशिया क्षेत्रीय उपाध्यक्ष मनीष थपारले नेपालमा चेतक ३५०१ सार्वजनिक हुनु कम्पनीको लागि ऐतिहासिक अवसर भएको बताए। त्यस्तै, गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले स्कुटर नेपाली प्रयोगकर्ताका लागि उपयुक्त रहेको बताउँदै, “यसले नेपालको विद्युतीय यातायातमा नयाँ युग सुरु गर्नेछ,” भने। स्कुटरको एक्स–शोरूम मूल्य रु. ३,२४,९०० निर्धारण गरिएको छ भने डेलिभरी सन् २०२५ बाट सुरु हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar