नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ र महर्षि कलेजबीच पाँच वर्षे रणनीतिक साझेदारी

  • कालिका खवर
  • मङ्लबार, साउन १२, २०८३
  • सातै प्रदेशमा एआई, कोडिङ बुटक्याम्प, ह्याकाथन र स्टार्टअप इन्कुबेसन कार्यक्रम सञ्चालन गरिने

    काठमाडौं । नेपालभर कृत्रिम बौद्धिकता (एआई) तथा भविष्यका प्रविधि सीप विस्तार गर्ने उद्देश्यसहित कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) र सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धित महर्षि कलेजबीच पाँच वर्षे रणनीतिक समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ।

    सम्झौताअनुसार एआई, कोडिङ, डिजिटल नवप्रवर्तन तथा उद्यमशीलतासम्बन्धी कार्यक्रम सातै प्रदेशका युवामाझ विस्तार गरिनेछ। यस सहकार्यले अत्याधुनिक प्रविधि शिक्षालाई काठमाडौं केन्द्रित अवस्थाबाट देशव्यापी बनाउने र विद्यार्थीलाई प्रविधिको उपभोक्ताबाट डिजिटल नवप्रवर्तकका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाइएको छ।

    कार्यक्रमअन्तर्गत आधारभूतदेखि उन्नत तहसम्मका कोडिङ बुटक्याम्प, ह्याकाथन तथा इनोभेसन च्यालेन्ज, स्टार्टअप इन्कुबेसन कार्यक्रम तथा शिक्षक क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिनेछ। यी कार्यक्रममार्फत विद्यार्थीलाई व्यावहारिक सीप, उद्योगसँगको प्रत्यक्ष अनुभव तथा प्रविधिमा आधारित उद्यम विकासका अवसर उपलब्ध गराइने क्यान महासंघले जनाएको छ।

    काठमाडौंमा आयोजित कार्यक्रममा क्यान महासंघका कार्यवाहक अध्यक्ष तथा वान कभर प्रालिका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) चिरञ्जीबी अधिकारी र महर्षि कलेजका प्रिन्सिपल रामराज आचार्यले संयुक्त रूपमा समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

    समारोहमा बोल्दै कार्यवाहक अध्यक्ष अधिकारीले यो साझेदारीले नेपाली युवाको वास्तविक सम्भावनालाई उजागर गर्ने विश्वास व्यक्त गर्दै एआईको प्रयोगकर्तामात्र नभई सिर्जनाकर्ता र विश्वव्यापी डिजिटल क्रान्तिका नेतृत्वकर्ता बनाउन सहयोग पुग्ने बताउनुभयो। सातै प्रदेशमा बुटक्याम्प र स्टार्टअप कार्यक्रम विस्तार गरी देशभरका युवालाई समान अवसर प्रदान गर्ने उद्देश्य रहेको उहाँको भनाइ थियो।

    महर्षि कलेजका प्रिन्सिपल रामराज आचार्यले शैक्षिक अध्ययनलाई व्यावहारिक उद्योग अनुभवसँग जोड्दै विद्यार्थीलाई प्रविधि क्षेत्रमा प्रवेश गर्ने प्रत्यक्ष अवसर सिर्जना गरिने बताउनुभयो। यस सहकार्यले भविष्यका चुनौती सामना गर्न सक्षम, दक्ष र प्रविधिमैत्री जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने उहाँले उल्लेख गर्नुभयो।

    समझदारीपत्र हस्ताक्षर कार्यक्रममा क्यान महासंघका उपाध्यक्ष सुवास खड्का, केन्द्रीय सदस्य तथा शिक्षा समितिका सह–संयोजक ओंकार बस्नेत लगायत शिक्षा तथा सूचना प्रविधि क्षेत्रका विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो।

    क्यान महासंघका अनुसार विश्वव्यापी रोजगारी बजार तीव्र रूपमा प्रविधिमुखी बन्दै गइरहेका बेला नेपाली युवालाई एआई तथा डिजिटल प्रविधिमा दक्ष बनाउने उद्देश्यले यो साझेदारी गरिएको हो। यस सहकार्यले नेपालको डिजिटल अर्थतन्त्र निर्माणमा युवा नवप्रवर्तकको भूमिका थप सशक्त बनाउने विश्वास गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar