बेनी–जोमसोम–कोरला सडकमा एक अर्बको क्षति, पुनर्निर्माण गर्न चार अर्बसम्म बजेट आवश्यक

  • कालिका खवर
  • मङ्लबार, कार्तिक ३, २०८३
  • म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्का कारण चीन र भारतलाई जोड्ने बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्ब रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ। क्षतिग्रस्त सडकको पुनर्निर्माणका लागि तीनदेखि चार अर्ब रुपैयाँसम्म बजेट आवश्यक पर्ने बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ।

    गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको पहिरो, कालीगण्डकी नदीको बाढी र कटानका कारण सडकका विभिन्न खण्डमा ठूलो क्षति पुगेको हो। बाढी र पहिरोले सडकको संरचना भत्काउनुका साथै कतिपय स्थानमा सडक नै बगाएको छ।

    बेनी–जोमसोम–कोरला सडक योजनाका आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार कालीगण्डकी नदीको बाढीले १० स्थानमा सडक बगाएको तथा भत्काएको छ। त्यस्तै, अन्य ५० स्थानमा पहिरोका कारण सडकमा क्षति पुगेको छ।

    सडकका विभिन्न खण्डमा भएको क्षतिको प्रारम्भिक मूल्याङ्कन गर्दा करिब एक अर्ब रुपैयाँ बराबरको भौतिक संरचना प्रभावित भएको देखिएको आयोजना प्रमुख शर्माले बताए।

    क्षतिग्रस्त सडकलाई पुनर्निर्माण गरी नियमित यातायात सञ्चालन गर्न ठूलो बजेट आवश्यक पर्ने देखिएको छ। यसका लागि तीनदेखि चार अर्ब रुपैयाँसम्म खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको योजनाले जनाएको छ।

    बेनी–जोमसोम–कोरला सडक चीन र भारतलाई जोड्ने महत्त्वपूर्ण व्यापारिक तथा पर्यटन मार्ग हो। यस सडकमा भएको क्षतिले स्थानीय यातायात, व्यापार तथा मुस्ताङ जाने पर्यटकको आवागमनमा समेत असर पार्न सक्ने देखिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar