विश्वकप भन्दा ठूलो जित : खेलप्रतिको सम्मान

हरि शरण जमकटेल
हरि शरण जमकटेल
  • मङ्लबार, असार २३, २०८३
  • विश्वकपको त्यो हरियो मैदान केवल एउटा खेल खेल्ने ठाउँ होइन। त्यो त करोडौँ मानिसका सपना, प्रार्थना, पसिना र भावनाको यस्तो रंगमञ्च हो, जहाँ ९० मिनेटको खेलका लागि मानिसहरू आफ्नो पूरा जिन्दगी दाउमा लगाइदिन्छन्। त्यहाँ जब एउटा रेफ्रीको सिट्टी बज्छ, तब केवल खेल सुरु हुँदैन, धर्तीका कयौँ कुनाहरूमा ढुकढुकीहरू रोकिन्छन् र कयौँ आँखाहरू आशाले रसाउँछन्।
    कुनै टोलीले इतिहास रच्छ, कुनै टोली इतिहासको पानामा आँसु बनेर पग्लिन्छ। यो फुटबलको अकाट्य नियम हो। तर यो जित र हारको कोलाहलभन्दा माथि उठेर हेर्ने हो भने, अन्ततः मैदानमा एउटै कुरा जीवित रहनुपर्छ, त्यो हो फुटबल, र खेलप्रतिको पवित्र सम्मान।

    हामी टेलिभिजनको पर्दामा चम्किरहेका ती ११ खेलाडीलाई देख्छौँ, तर त्यो जर्सीभित्र लुकेको संघर्षको कथा विरलै महसुस गर्छौँ। विश्वकपको त्यो मैदानसम्म पाइला टेक्न एउटा खेलाडीले आफ्नो बाल्यकाल गुमाएको हुन्छ, कयौँ चोटहरूसँग सम्झौता गरेको हुन्छ र कतिपय रात भोकै अनि रोएर बिताएको हुन्छ। उनीहरू केवल एउटा खेलाडी मात्र होइनन्, आफ्ना देशका करोडौँ जनताका सपनाका भारी बोक्ने बहादुर सिपाही हुन्।

    कतिपय विश्वका सर्वोत्कृष्ट खेलाडी र बलिया टोलीहरू त छनोट चरणको त्यो कठोर र निर्दयी भिडन्त पार गर्न नसकेर, विश्वकपको मैदानमा आफ्नो देशको झण्डा फहराउन नपाइकनै भित्रभित्रै टुट्छन्। जब एउटा खेलाडीले विश्वकप खेल्ने सपना अधुरै छोडेर मैदानबाट बिदा लिन्छ, त्यो भन्दा ठूलो पीडा खेलकुदमा अर्को केही हुँदैन।

    आफ्नो देश वा मनपर्ने टोलीको समर्थनमा चिच्याउनु, छाती गर्वले फुलाउनु र प्रिय खेलाडीका लागि प्राथना गर्नु समर्थनको सबैभन्दा सुन्दर रूप हो। तर, त्यही समर्थनको आवरणमा अर्को टोलीको हारमा अट्टहास गर्नु, कुनै खेलाडीको आँसुको उपहास गर्नु र खेलप्रेमीहरूबीच आपसी शत्रुताको विष घोल्नु भनेको खेलको आत्मालाई आफ्नै हातले जिउँदै गाड्नु जस्तै हो।

    “जब एउटा महान् खेलाडी पराजित भएर मैदानमा घुँडा टेक्छ र उसका आँखाहरू बर्सिन्छन्, तब रोएको केवल एउटा खेलाडी वा एउटा देश मात्र हुँदैन; खेललाई मुटुमा राख्ने हरेक सच्चा खेलप्रेमीको मन पनि त्यहाँ भित्रभित्रै रोइरहेको हुन्छ।”
    खेलले हामीलाई जित्नुभन्दा पहिले हारलाई आत्मसात् गर्न सिकाउँछ। यसले हामीलाई सिकाउँछ कि कसरी विरोधीको आँसु पुछ्दै उसलाई अंगाल्न सकिन्छ। भाषा, धर्म, जात, र भूगोलका कृत्रिम पर्खालहरूलाई भत्काएर संसारलाई एउटै भावनामा रुवाउन र हँसाउन सक्ने तागत केवल खेलसँग मात्र छ।

    आज तपाईंको प्रिय टोलीले उत्सव मनाउला, भोलि मेरो टोलीको पालो आउला। आज तपाईंको आदर्श खेलाडीको जादु चम्किएला, भोलि समयको चक्रले अर्को नयाँ तारालाई जन्म देला। खेलाडीहरू आउने-जाने क्रम चलिरहन्छ, रंगशालाहरू बदलिइरहन्छन्। तर, फुटबलप्रतिको त्यो निश्वार्थ प्रेम, खेलाडीहरूको त्यो रगत-पसिनाप्रतिको आदर र खेलले सिकाएको मानवीय सभ्यता कहिल्यै हार्नु हुँदैन।

    आउनुहोस्, आफ्ना टोलीका लागि खुसीले पागल बनौँ, तर प्रतिद्वन्द्वीको आँसु र मिहिनेतलाई पनि उत्तिकै आदर गरौँ। जितको उन्मादमा अरूलाई नहोच्याऔँ, हारको पीडामा असहिष्णु नबनाऔँ।
    किनकि, विश्वकपको सबैभन्दा सुन्दर र मूल्यवान् ट्रफी त्यो सुनको कप होइन, जुन विजेताले हातमा उठाउँछ। वास्तविक ट्रफी त त्यो सद्भाव हो, जुन हार र जितको सिमानाभन्दा धेरै माथि उठेर, एउटा खेलाडीले अर्को खेलाडीको र एउटा समर्थकले अर्को समर्थकको मनमा सजायको हुन्छ।

    अन्ततः, फाइनलको दिन एउटा टोलीले कप उचाल्ला, तर संसारभरका सच्चा खेलप्रेमीहरूको आँखाबाट झर्ने आँसुले एउटै कुरा भनोस् “मैदानमा फुटबल जितोस्, मानवता जितोस् र हाम्रो खेल भावना सधैँ अमर रहोस्।”

    लेखकको बारेमा

    हरि शरण जमकटेल

    हरि शरण जमकटेल

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar