नाडा अटो शोमा गाडी मात्र होइन, गाडी चलाउने सम्पूर्ण इकोसिस्टम पनि देखिने

  • कालिका खवर
  • शुक्रबार, भदौ ५, २०८३
  • काठमाडौं । नेपालमा अटोमोबाइल प्रदर्शनीलाई गाडी हेर्ने र खरिद गर्ने थलोका रूपमा बुझिँदै आएकोमा यसपटकको नाडा अटो शोले त्यसको दायरा फराकिलो बनाउने भएको छ। भदौ ९ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ मा सवारीसाधनसँगै त्यसलाई लामो समयसम्म सञ्चालन गर्न आवश्यक पर्ने पार्टपुर्जा, सेवा, वित्तीय तथा प्रविधिसम्बन्धी सामग्रीसमेत प्रदर्शन गरिने भएको हो।

    करिब तीन लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा दुई सयभन्दा बढी स्टल रहनेछन्। कार्यक्रममा २३ यात्रुवाहक, १७ हल्का व्यावसायिक र १३ दुईपाङ्ग्रे गरी ५३ वटा सवारी ब्रान्ड सहभागी हुँदैछन्।

    तर प्रदर्शनीमा सवारी ब्रान्ड मात्र प्रमुख आकर्षण हुने छैनन्। करिब ७० कम्पनीले टायर, ब्याट्री, इन्जिन आयल, हेलमेट, बेयरिङ, ग्यास्केट, फिल्टर, डायग्नोस्टिक उपकरण, ग्यारेज टुल्स, जीपीएस तथा टेलिमेटिक्स प्रणाली, एसेसरिज र विद्युतीय सवारी चार्जिङ उपकरण प्रदर्शन गर्नेछन्।

    त्यस्तै, करिब १० बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीले अटो लोन, सवारी बीमा र विद्युतीय सवारीका लागि लक्षित वित्तीय योजनासहित सहभागिता जनाउनेछन्। आयोजकका अनुसार उपभोक्ताले सवारी खरिद गर्नुअघि मात्र नभई खरिदपछि आवश्यक पर्ने सेवा तथा सुविधाबारे पनि एउटै स्थानबाट जानकारी लिन सक्नेछन्।

    सवारी खरिदको निर्णय लिन केही हप्ता लागे पनि त्यसपछि गाडीलाई वर्षौंसम्म सञ्चालन गर्नुपर्ने भएकाले वर्कसप, बैंक, बीमा कम्पनी, टायर तथा पार्टपुर्जा व्यवसायसँग उपभोक्ताको दीर्घकालीन सम्बन्ध रहने आयोजकको भनाइ छ। यही पक्षलाई ध्यानमा राख्दै प्रदर्शनीलाई चारपाङ्ग्रे, दुईपाङ्ग्रे, वित्तीय संस्था, अटो पार्ट्स र ग्यारेज उपकरणलगायत छुट्टाछुट्टै क्षेत्रमा विभाजन गरिएको छ।

    यसपटकको नाडा अटो शोमा विभिन्न देशका सवारी ब्रान्डको उल्लेख्य सहभागिता रहनेछ। युरोपेली इन्जिनियरिङका लागि परिचित स्कोडा, मलेसियाको राष्ट्रिय ब्रान्ड प्रोटोन तथा चेरीका ओमोडा र जेकु, जीडब्ल्यूएमलगायत चिनियाँ ब्रान्ड सहभागी हुनेछन्। जापानी, भारतीय, कोरियाली, चेक, मलेसियाली र चिनियाँ मूलका सवारीसाधन एउटै प्रदर्शनीमा अवलोकन गर्न सकिनेछ।

    विदेशी सहभागीका लागि ‘इन्टरनेसनल बिजनेस प्याभिलियन’ तथा स्वदेशी उत्पादन र एसेम्बलीलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘मेड इन नेपाल/मेड फर नेपाल’ प्याभिलियन समेत स्थापना गरिएको छ।

    नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले अटो शो गाडीले भरिएको प्रदर्शनी मात्र नभई गाडीलाई वर्षौंसम्म सञ्चालनमा राख्ने सम्पूर्ण उद्योगको प्रतिनिधित्व गर्ने थलो बन्नुपर्ने बताए।

    उनका अनुसार करिब ५० वर्षअघि नेपालको अटोमोबाइल उद्योगको प्रदर्शनी एउटा कोठामै सीमित हुने अवस्था थियो। अहिले तीन लाख वर्गफिट क्षेत्रफल आवश्यक पर्नु केवल सवारीसाधनको संख्या बढेको कारण नभई समग्र अटोमोबाइल उद्योग नै विस्तार भएको प्रमाण हो।

    ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar