खानेपानी उद्योगमा खाद्य विभागको अनुगमन : ६४ वटा जार नष्ट, पानीको नमुना परीक्षणका लागि संकलन

  • कालिका खवर
  • शुक्रबार, भदौ ५, २०८३
  • काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौंका दुई वटा खानेपानी उद्योगमा आकस्मिक बजार अनुगमन गरेको छ। विभागले प्राप्त गुनासोका आधारमा २०८३ भदौ ४ गते टोखा र जोरपाटी क्षेत्रका खानेपानी उद्योगमा निरीक्षण गरेको हो।

    विभागका अनुसार टोखा नगरपालिका–६ स्थित मणि खानेपानी सेवामा पानीमा कुहिरो जस्तो फोहोर देखिएको तथा किरा भेटिएको भन्ने गुनासो प्राप्त भएपछि अनुगमन गरिएको थियो। अनुगमनका क्रममा उद्योगको सरसफाइ अवस्था सन्तोषजनक नरहेको, टायल टुटफुट भएको तथा पानीका जार टुटेफुटेका र कुच्चिएका अवस्थामा रहेको पाइएको थियो।

    उद्योगबाट टुटेफुटेका तथा कुच्चिएका १२ वटा जार नष्ट गरिएको विभागले जनाएको छ। साथै नियमित सरसफाइ गर्न निर्देशन दिइएको छ। थप अनुसन्धानका लागि पानीको नमुना प्रयोगशाला परीक्षण गर्न संकलन गरिएको छ। उद्योगलाई फुटेको टायललगायत देखिएका कैफियत सुधार गरी चार दिनभित्र प्रमाणसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

    त्यस्तै, गोर्खा बेभेरेज प्रालि., जोरपाटी–४ मा पनि जारको पानीमा किरा देखिएको भन्ने गुनासोका आधारमा अनुगमन गरिएको थियो। निरीक्षणका क्रममा सरसफाइ अवस्था सामान्य तथा कर्मचारीको व्यक्तिगत सरसफाइ सन्तोषजनक भए पनि कीट नियन्त्रणको व्यवस्था नरहेको पाइएको विभागले जनाएको छ।

    उद्योगमा टुटेफुटेका तथा कुच्चिएका जार प्रयोग भइरहेको र प्रशोधित पानी भर्ने स्थान खुला रहेको समेत पाइएको थियो। विभागले नियमित सरसफाइ गर्न निर्देशन दिँदै ५२ वटा टुटेफुटेका जार नष्ट गरेको छ। प्रशोधित पानी भर्ने स्थानलाई व्यवस्थित गर्न पनि निर्देशन दिइएको छ।

    खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम गरिएको उक्त अनुगमनमा कुल दुई वटा खाद्य व्यवसायको निरीक्षण गरिएको विभागले जनाएको छ।

    विभागले खाद्य व्यवसायीलाई खाद्य स्वच्छता, गुणस्तर तथा सरसफाइका मापदण्ड पालना गर्न आग्रह गर्दै गुनासोका आधारमा आकस्मिक अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar