विदेश पढ्न जाने विद्यार्थीका लागि नेको इन्स्योरेन्सको ‘स्टुडेन्ट इन्टरनेशनल हेल्थ प्लस बेनिफिट’ शिघ्र लञ्च हुने

  • कालिका खवर
  • बुधबार, मंसिर ३, २०८२
  • काठमाडौँ । विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीका लागि नेको इन्स्योरेन्सले विशेष सुविधा समावेश गरिएको ‘एक्सक्लुसिभ’ बीमा प्रडक्ट ल्याउने तयारी गरेको छ। ‘स्टुडेन्ट इन्टरनेशनल हेल्थ प्लस बेनिफिट’ नामको यो नयाँ प्रडक्ट यथाशीघ्र सार्वजनिक गर्ने तयारी भइरहेको कम्पनीका नायब कार्यकारी अधिकृत पवन थापाले जानकारी दिए।

    यो बीमा योजना विशेषगरी अस्ट्रेलिया लगायत अन्य देशमा पढ्न जाने नेपाली विद्यार्थीलाई लक्षित गरेर डिजाइन गरिएको छ। नेपालमा रहेका बुबा, आमा वा मुख्य अभिभावकको देहावसान भएमा विद्यार्थीले विदेशमा अध्ययन निरन्तरता दिनुपर्ने अवस्थालाई ध्यानमा राखेर यस प्रडक्टले व्यापक संरक्षण प्रदान गर्नेछ।

    के–के समावेश छन् ?

    उक्त प्रडक्टमा विद्यार्थीले निम्न सुरक्षा–सुविधा प्राप्त गर्नेछन्—

    • ट्युशन फी प्रोटेक्शन: ५० हजार अमेरिकी डलरसम्म

    • बसोबास सहायता: २,५०० डलरसम्म

    • अस्पताल खर्च: २५ हजार डलरसम्म

    • व्यक्तिगत दुर्घटना बीमा: २५ हजार डलरसम्म

    यी सबै कभरेज अध्ययनरत विद्यार्थी स्वयंको लागि हो।

    अभिभावकका लागि समेत छुट्टै कभरेज

    विद्यार्थीका मुख्य अभिभावकको मृत्यु वा गम्भीर दुर्घटनामा परे केही अतिरिक्त सुविधा समेत प्रदान गरिनेछ—

    • नेपाल फर्कनुपर्ने अवस्थामा २,००० डलरसम्म ‘ट्राभल असिस्टेन्स’

    • अभिभावकको मृत्यु वा अपाङ्गता भएमा ५० हजार डलरसम्मको दुर्घटना बीमा

    • वार्षिक १ लाख ५० हजार डलरसम्मको कर्जा (EMI) सहायता

    थापाका अनुसार, “विद्यार्थी विदेशमा हुँदा अभिभावककै मृत्यु वा अपाङ्गता हुँदा पढाइ अधुरो रोकिन नपरोस् भन्ने उद्देश्यले यो प्रडक्ट डिजाइन गरिएको हो। बाहिर भएको विद्यार्थीलाई आकस्मिक अवस्थामा घर फर्किनुपर्ने, खर्च व्यवस्थापन गर्नुपर्ने भएर पनि यस्तो सुरक्षा आवश्यक पर्छ।”

    कति प्रिमियम तिर्नुपर्छ ?

    नेको इन्स्योरेन्सले प्रस्ताव गरेको यो नयाँ योजनाको वार्षिक प्रिमियम १६० अमेरिकी डलर (करिब २३ हजार रुपैयाँ) मात्र हुने बताइएको छ। यस सानो रकममा विद्यार्थीले विस्तृत सुरक्षा पाउने भएकाले यो योजना विदेश अध्ययन गर्न जाने विद्यार्थीबीच अत्यन्त लोकप्रिय हुने कम्पनीको आशा छ।

    थापाले भने, “नेपालमा कुनै पनि बीमा कम्पनीले यस्ता सुविधासहितको प्रडक्ट ल्याएको छैन। यो अत्यन्तै उपयोगी योजना हो।”

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar