देशभरका विभिन्न राजमार्ग अवरुद्ध, कहाँको अवस्था कस्तो ?

  • कालिका खवर
  • बिहिबार, साउन १४, २०८३
  • काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग एवं सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ ।

    नेपाल प्रहरीले बिहीबार बिहान ७ः५० बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध र कतिपयमा राति सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको जनाएको छ ।

    काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी बेलुका ६ः०० देखि भोलिपल्ट बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । कान्ति लोकपथमा पनि बेलुका ५ः०० देखि बिहान ५ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

    इलामको इलाम नगरपालिका–९ स्थित मेची राजमार्गमा वर्षाका कारण सडक हिलाम्मे भएपछि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ ।

    सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकास्थित अरनिको राजमार्गका जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध छ ।

    दोलखाको तामाकोसी गाउँपालिका–५, किर्नेटारस्थित लामासाँघु–रामेछाप सडकखण्डमा सामाकोसी खोलाको बहावले सडक कटान गरेपछि उक्त बाटो पनि अवरुद्ध छ ।

    रसुवाको उत्तरगया गाउँपालिका–५, खाल्टेस्थित पासाङल्हामु सडकखण्डमा त्रिशूली नदीले कटान गरेकाले उक्त बाटो पनि पूर्ण रूपमा अवरुद्ध छ । ललितपुरको वाग्मती गाउँपालिका–३, कान्ति लोकपथमा सुक्खा पहिरो खसेकाले उक्त सडक पनि पूर्ण रूपमा बन्द छ ।

    जाजरकोट–डोल्पा सडकअन्तर्गत मूलपानीखोला बाढीले सडक कटान गर्दा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध छ । प्रहरीले वर्षायाममा पहिरो, बाढी तथा सडक कटानको जोखिम उच्च रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट बाटोको अवस्थाबारे जानकारी लिन तथा आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar