महासङ्घको आगामी नेतृत्वमा सर्वसम्मत चयनको पहल हुन्छ : अध्यक्ष ढकाल

  • कालिका खवर
  • शुक्रबार, पुस २५, २०८२
  • काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघले आसन्न ६० औँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने बताएका छन् । शुक्रबार भक्तपुर उद्योग वाणिज्य संघको २८ औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

    उनले महासङ्घको संस्थागत सुधार, नीतिगत निरन्तरता र निजी क्षेत्रको एकताका लागि आगामी महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्न आवश्यक रहेको र आफूले सो पहल गरिरहेको बताए ।  अध्यक्ष ढकालले महासंघले नीतिगत सुधार, लगानीमैत्री वातावरण निर्माण, निजी क्षेत्रको हक–हित संरक्षणका लागि सरकारसँग निरन्तर संवाद र सहकार्य गर्दै आएको बताए ।

    निजी क्षेत्रलाई अख्तियारको दायरमा ल्याउन नहुने विषयको पैरवी देखि अर्थतन्त्र सुधारको लागि उच्चस्तरीय आर्थिक सुधार आयोग गठन र लगानीमैत्री वातावरण निर्माणका लागि दजर्नौं कानुन संशोधनमा महासंघले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

    ‘उत्पादन, रोजगारी र लगानी प्रवर्द्धनका लागि नीतिगत स्थायित्व र सरकार–निजी क्षेत्रबिचको सहकार्य अपरिहार्य छ । निरन्तरको प्रयासले धेरै नीतिगत सुधारहरू भएका छन् ,‘ उनले भने, ‘मुलुक भित्र लगानी प्रवर्द्धन र नीतिगत सुधारमा महासङ्घको बलियो उपस्थिति देखिएको छ ।’

    पछिल्लो समय निजी क्षेत्रको मनोबल खस्किएको चर्चा गर्दै उनले यो अवस्थामा निजी क्षेत्रले शान्ति सुरक्षा लगानी गर्ने वातावरणको सुनिश्चितता खोजिरहेको धारणा राखे ।

    मुलुकको आर्थिक पुनरुत्थानका लागि निजी क्षेत्रको मनोबल माथि उठाउनु आजको आवश्यकता रहेका बताउँदै उनले भाद्र २३ र २४ को गतेको प्रदर्शनका क्रममा भएको गलत घुसपैठ गरी उद्योग व्यवसाय तथा निजी सम्पत्तिमाथि आक्रमण गर्नेहरूलाई कानुनी कारबाही गर्नु पर्नेमा जोड दिए ।

    अध्यक्ष ढकालले त्यही उद्देश्यका साथ महासङ्घको पहलमा १० अर्ब रुपैयाँ पुँजीको नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरी काम भइरहेको बताए । यो कम्पनीले ठुला पूर्वाधार परियोजनामा निजी क्षेत्रको सहभागिता,उत्पादनमूलक क्षेत्रमा लगानी रोजगारी सिर्जनाको उद्देश्य राखेको बताउँदै उनले स्थानीय उद्यमीहरूले यो अवसरलाई सदुपयोग गर्न आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar