छैटौं एशियन बिच गेम्समा नेपाली महिला कबड्डी टिमको विजयी सुरुवात , चाइनीज ताइपेई पराजित,

  • कालिका खवर
  • बिहिबार, बैशाख १०, २०८३
  • ललितपुर (गोदावरी) –छैटौं एशियन बिच गेम्स २०२६ मा नेपाली महिला कबड्डी टिमले उत्कृष्ट सुरुवात गरेको छ । चीनको सान्या शहरमा जारी एशियन बिच गेम्समा नेपालले बलियो प्रतिद्धन्द्धि चाइनीज ताइपेइलाई हराउँदै उत्कृष्ट सुरुवात गरेको हो ।

    समूह बि मा रहेको नेपालले चाइनिज ताईपेईलाई ४८–३२ को स्कोरमा हराएको छ । सान्याको ह्याक्पु स्क्वायर बिचमा भएको खेलमा नेपालले पहिलो हाफमा २६–१३ को अग्रता बनाएको थियो । दोस्रो हाफमा ताइपेइले खेलमा सुधार ल्यायो । तर पनि नेपालले दोस्रो हाफमा २२–१९ को अग्रता नै थियो । यो जितसँगै नेपालको सेमिफाइनल पुग्ने संभावना बलियो बनेको छ ।

    समूह बि मा बंगलादेश र थाइल्याण्ड पनि रहेका छन् । बुधबार सम्पन्न खेलमा बंगलादेशले थाइल्याण्डलाई ५१–३४ को स्कोरले हराएको छ । समूहमा १–१ खेल सकिँदा बंगलादेश र नेपालको २–२ अंक रहेको छ ।
    नेपालले समूहचरणको दोस्रो खेलमा शुक्रबार बंगलादेशसँग खेल्दैछ । यो खेलमा नेपाल विजयी भए ,सेमिफाइनलमा पुग्नेछ । सेमिफाइनलमा पुगे कम्तिमा नेपालको पोल्टामा काँस्य पदक भित्रने छ ।

    नेपाली टिमकी कप्तान मानमती विष्ट बंगलादेशसँगको खेलमा नेपालले सुखद नतिजा ल्याउनेमा आशावादी छिन् । हामीले राम्रो नतिजा ल्याउन सक्छौँ, हामीले बंगलादेशसँग पटक पटक खेलेको अनुभव छ , उनले भनिन्र्, बंगलादेश भनेको हाम्रै एभरेजको टिम हो ।

    नेपाल कबड्डी संघका महासचिव अरविन्द झा चाइनिज ताइपेइसँगको खेल जित्ने वित्तिकै नेपालको टार्गेट फाइनल भएको बताउँछन् र्। हामीलाई बंगलादेशसँग खेल्न सजिलो हुन्छ र थाइल्याण्डलाई हामी हराउन सक्छौँ , उनले भने र्, ग्रुप फष्ट भएर सेमिफाइनल पुग्दा संभवत अर्को समूहबाट उपविजेता हुँदै श्रीलंका आउन सक्छ , उसलाई हराएर हामी फाइनल पुग्नेछौ ।

    फाइनलसम्म पुगे रजत पदक नेपालको पक्का हुनेछ भने फाइनल जितेमा ऐतीहाँसिक स्वर्ण नै हात लाग्नेछ ।

    नेपालका तर्फबाट सेफ दि मिसन एवं नेपाल ओलम्पिक कमिटीका सचिव रामकृष्ण श्रेष्ठ बोसले नेपाली महिला कबड्डी टिमले सुखद नतिजा ल्याएको बताए । उनले महिला टिमको यो उत्साहले सिंगो नेपालको नै गौरब बढाएको बताए ।

    शुक्रबारको नतिजा आफू अनुकुल नआएको खण्डमा सेमिफाइनलको ढोका उघार्न शनिबार हुने अर्को खेलमा थाइल्याण्डलाई हराउनुपर्नेछ । समूहमा अन्य टिमभन्दा थाइल्याण्डलाई कमजोर मानिएको छ ।

    समूह एमा भारत , श्रीलंका र सिरीया रहेका छन् । भारतले पहिलो खेलमा श्रीलंकालाई ४४–३२ को स्कोरले हराइसकेको छ । अब भारतले सिरीयासँग र श्रीलंकाले पनि सिरीयासँग नै खेल्न बाँकी छ ।

    छैटौँ एसियन बिच गेम्सका लागि नेपालको तर्फबाट २ वटा खेलमा सहभागिता छ। महिला कबड्डी टिमसँगै कुस्तीबाट पनि नेपालको तर्फबाट खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । कबड्डीबाट ६ खेलाडीसहितको टिम र कुस्तीमा पुरुषतर्फ २ र महिलातर्फ १ खेलाडीले प्रतिस्पर्धा गर्दैेछन्।

    कुस्तीमा पुरुषतर्फ सुरेश चुनाराले ८० किलोमा प्रतिस्पर्धा गर्नेछन् भने त्रिलोकी प्रसाद यादवले ९० केजी माथिको तौलमा प्रतिस्पर्धा गर्नेछन्। महिलातर्फ सुशिला चन्दले ७० केजीमा प्रतिस्पर्धा गर्नेछिन्। सान्या बिच गेम्समा ४५ देशको सहभागीता रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar