गोरखा–धादिङ सडकखण्ड अझै ठप्प, अन्य चार राजमार्ग एकतर्फी सञ्चालन

  • कालिका खवर
  • मङ्लबार, अशोज २७, २०८३
  • काठमाडौं । बाढी तथा पहिरोका कारण बागमती र गण्डकी प्रदेशको प्रमुख राजमार्ग एवं सडकखण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले मंगलबार बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढीका कारण गोरखा–धादिङ जोड्ने सडक पूर्णरूपमा अवरुद्ध भएको र अन्य चारवटा सडक खण्ड एकतर्फी मात्र सञ्चालनमा रहेको जनाएको छ ।

    गोरखाको आरूघाट गाउँपालिकास्थित नयाँपुल सोतीमा रहेको फलामे पुल बाढीका कारण अवरुद्ध हुँदा गोरखा आरूघाटबाट धादिङ जोड्ने सडक पूर्णरूपमा ठप्प बनेको छ । असोज २५ गते बिहानदेखि अवरुद्ध उक्त सडक अझै सञ्चालनमा आउन सकेको छैन ।

    यसैगरी, धादिङको धुनिबेशीस्थित खत्रीपौवामा पहिरो खसेपछि त्रिभुवन राजपथ एकतर्फी मात्र सञ्चालनमा रहेको छ ।

    गण्डकी प्रदेशका अन्य हिमाली तथा पहाडी जिल्लाका सडकहरूमा पनि बाढीपहिरोले असर पारेको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीस्थित बेनी–जोमसोम सडक खण्ड पहिरोका कारण एकतर्फी खुलेको छ ।

    नवलपरासी पूर्वस्थित कालीगण्डकी करिडोरको जन्ती पहिरोमा खसेको पहिरोले गर्दा सडक एकतर्फी मात्र सुचारु छ, जहाँबाट ठूला सवारी साधन सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ ।

    त्यस्तै, मनाङ जोड्ने बेसीसहर–खाङ्सार सडकखण्ड पनि बाढीका कारण हाल एकतर्फी मात्र सञ्चालन भइरहेको छ ।

    अवरुद्ध तथा आंशिक सञ्चालनमा रहेका सडकहरू पूर्णरूपमा सुचारु गराउन प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar