एनपीएल–२ को ट्रफी सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा प्रदर्शित

  • कालिका खवर
  • शुक्रबार, कार्तिक २८, २०८२
  • काठमाडौँ । क्रिकेट असोसिएसन अफ नेपाल (क्यान) द्वारा आयोजित नेपाल प्रिमियर लिग (एनपीएल) २ को ट्रफी सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नक्सालस्थित प्रधान कार्यालयमा प्रदर्शित गरिएको छ। सह–प्रायोजकको रूपमा रहेका सानिमा रिलायन्सका लागि यो ट्रफी प्रदर्शन विशेष अवसरका रूपमा रहेको कम्पनीले जनाएको छ। एनपीएल–२ यसै मङ्सिर १ गतेबाट कीर्तिपुर क्रिकेट मैदानमा सुरु हुँदैछ।

    कार्यक्रमका प्रमुख अतिथि तथा कम्पनीका अध्यक्ष रतनलाल केडियाले नेपालमा क्रिकेटको लोकप्रियता दिनानुदिन बढ्दो अवस्थामा रहेको उल्लेख गर्दै, उत्कृष्ट नेपाली प्रतिभालाई अन्तराष्ट्रिय स्तरमा चिनाउन एनपीएल एक महत्वपूर्ण मञ्च बनेको बताए। उनले नेपालका प्रतिभावान खेलाडीहरूको मनोबल उच्च बनाउन र देशको छवि अन्तराष्ट्रिय जगतमा उजागर गर्न क्यानको भूमिका महत्वपूर्ण रहेको पनि जोड दिए।

    एनपीएल–२ मा दोहोरिँदो सह–प्रायोजक बन्न पाउनु कम्पनीका लागि गर्वको विषय भएको उल्लेख गर्दै केडियाले लिगको सफलताका लागि कम्पनी र व्यक्तिगत तर्फबाट शुभकामना व्यक्त गरे।

    प्रदर्शित ट्रफीको शीर्ष स्थानमा राखिएको सगरमाथाको कालापत्थर विशेष आकर्षणका रूपमा रहेको छ। निमा शेर्पा र मिङ्मा डेभिड शेर्पाले जिम्मेवारीका साथ कालापत्थरबाट ल्याएको उक्त ढुंगा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको सहयोगमा ट्रफीमा स्थापना गरिएको हो, जसले ट्रफीलाई हिमालको मुटुसँग जोड्ने प्रतीक प्रस्तुत गर्छ।

    सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले हाल १६९ शाखा, ५ अर्बभन्दा बढी पूँजी, २० अर्बभन्दा बढी लगानी, र २० हजारभन्दा बढी अभिकर्ता मार्फत बीमा सेवा प्रदान गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar