बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङमा रोकिए २,५०० भन्दा बढी विद्युतीय गाडी

  • कालिका खवर
  • बुधबार, अशोज २८, २०८३
  • काठमाडौँ । बेनी–जोमसोम सडकको खराब अवस्थाका कारण चीनको कोरलानाकाबाट नेपाल भित्रिएका दुई हजार पाँच सयभन्दा बढी विद्युतीय सवारीसाधन मुस्ताङमै रोकिएका छन्। असोज ११ गतेदेखि सडक प्रभावित भएपछि आयात गरिएका गाडीलाई सम्बन्धित गन्तव्यमा पुर्‍याउन समस्या भएको हो।

    गत शुक्रबार साँझदेखि सडकमा यातायात सञ्चालन हुन थाले पनि मार्ग अझै जोखिमपूर्ण र असहज रहेकाले विद्युतीय सवारीसाधनको ढुवानी सहज हुन सकेको छैन। सडक पूर्ण रूपमा सञ्चालनयोग्य नहुँदा विभिन्न कम्पनीले आफ्ना गाडी मुस्ताङका विभिन्न पार्किङस्थलमा राखेका छन्।

    कोरलानाका र जोमसोममा गाडीको चाप

    नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ गाउँपालिका–४, न्हेचुङमा रहेको सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्टका अनुसार कोरलानाकाको खुला क्षेत्र र मुस्ताङ भन्सार कार्यालयको यार्डमा गरी दुई हजारभन्दा बढी विद्युतीय गाडी पार्किङमा राखिएका छन्।

    कोरलानाकास्थित सशस्त्र प्रहरी निरीक्षक प्रकाश धितालका अनुसार दशगजा क्षेत्रमा विभिन्न कम्पनीका दुई हजारभन्दा बढी गाडी छन् भने भन्सार यार्डमा थप दुई सयभन्दा बढी सवारीसाधन राखिएका छन्।

    भन्सार जाँचपासपछि गाडीलाई भन्सार कार्यालयसम्म ल्याउने र त्यहाँबाट सम्बन्धित कम्पनीका चालकले व्यवस्थापन गर्ने गरिएको छ। नाकामा रोकिएका गाडीलाई आवश्यक प्रक्रिया पूरा गरी गन्तव्यतर्फ पठाउन सहजीकरण भइरहेको धितालले बताए।

    यसैगरी, कोरलानाकाबाट भन्सार प्रक्रिया पूरा गरी जोमसोम ल्याइएका पाँच सयभन्दा बढी विद्युतीय गाडी दुईवटा पार्किङस्थलमा राखिएका छन्।

    बीवाईडी कम्पनीको खरिदकर्ता साइमेक्स इङ्कका प्रतिनिधि दीपक बुढाथोकीका अनुसार सडक सञ्चालनमा आए पनि आवागमन सहज नभएकाले गाडीलाई गन्तव्यसम्म पुर्‍याउन कठिनाइ भइरहेको छ।

    उनका अनुसार सडक अवरुद्ध भएपछि कोरलानाकाबाट नेपाल भित्रिएका बीवाईडीका विभिन्न मोडलका दुई हजारभन्दा बढी गाडी मुस्ताङमै रोकिएका छन्। विशेषगरी साना सवारीसाधनलाई खराब सडकमा सुरक्षित रूपमा ढुवानी गर्न कठिन भएकाले जोमसोम बसपार्क र भन्सार कार्यालयको पार्किङ क्षेत्रमा राखिएको उनले जानकारी दिए।

    तीन हजारभन्दा बढी विद्युतीय गाडी ल्याउने योजना

    असोज ११ गतेअघि बीवाईडीका करिब ४५० वटा गाडी गन्तव्यतर्फ पठाइसकिएका थिए। त्यसपछि नेपाल भित्रिएका सवारीसाधनलाई भने बेनी–जोमसोम सडकको कमजोर अवस्थाका कारण ढुवानी गर्न समस्या भएको कम्पनीका प्रतिनिधिले बताएका छन्।

    रसुवा र तातोपानी नाका बन्द भएपछि साइमेक्स इङ्कले कोरलानाका हुँदै तीन हजारभन्दा बढी विद्युतीय गाडी नेपाल ल्याउने योजना बनाएको छ। तर, सडकको अवस्थाले आयातित गाडीको ढुवानी र व्यवस्थापनमा चुनौती थपिएको छ।

    अन्य मालवस्तुको ढुवानी भने जारी

    कोरलानाकाबाट आयात भएका अन्य मालवस्तुको ढुवानी भने क्रमशः अघि बढिरहेको छ।

    प्रहरी निरीक्षक तथा सूचना अधिकारी सन्तोष बस्यालका अनुसार सोमबारसम्म सामान बोकेका ६०० भन्दा बढी कन्टेनर मुस्ताङबाट आ–आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिसकेका छन्।

    जिल्लामा रोकिएका कन्टेनर बाहिरिन थालेपछि थप सामान ढुवानीका लागि केही खाली कन्टेनर कोरलानाकातर्फ जान थालेको बस्यालले जानकारी दिए।

    बेनी–जोमसोम सडकको अवस्था पूर्ण रूपमा सहज नहुँदासम्म कोरलानाकाबाट आयात भएका विद्युतीय सवारीसाधनको ढुवानी प्रभावित हुने देखिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar