भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि निर्माण सुरु

  • कालिका खवर
  • मङ्लबार, अशोज २७, २०८३
  • काठमाडौं । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले भक्तपुरमा नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। साथै, कम्पनीले काठमाडौंको डल्लुमा अर्को सर्भिस सेन्टर निर्माणका लागि शिलान्यास गरेको छ।

    नेपालमा बीवाईडीका विद्युतीय सवारीसाधनको प्रयोग र ग्राहक आधार विस्तार हुँदै गइरहेको अवस्थामा कम्पनीले बिक्रीपछिको सेवा सञ्जाललाई थप मजबुत बनाउने उद्देश्यले यी दुई परियोजना अघि बढाएको हो। यसबाट ग्राहकलाई सवारीसाधनको मर्मतसम्भार तथा प्राविधिक सेवा सहज रूपमा उपलब्ध गराउन सहयोग पुग्ने कम्पनीको विश्वास छ।

    २५ हजार वर्गफिटभन्दा बढी क्षेत्रफलमा थ्रीएस सेन्टर

    भक्तपुरमा सञ्चालनमा आएको नयाँ सर्भिस सेन्टर २५ हजार ७२.६० वर्गफिट क्षेत्रफलमा फैलिएको छ। यसलाई सेल्स, सर्भिस र स्पेयर पार्ट्ससम्बन्धी सुविधा एउटै स्थानमा उपलब्ध हुने ‘थ्रीएस’ सेन्टरका रूपमा विकास गरिएको हो।

    सेन्टरमा आठवटा सर्भिस बेको व्यवस्था गरिएको छ। तीमध्ये पाँचवटा हाल सञ्चालनमा आएका छन् भने बाँकी तीनवटा भविष्यमा सेवा माग बढ्दै जाँदा सञ्चालनमा ल्याइने कम्पनीले जनाएको छ। यसैगरी, सेन्टरमा सवारीसाधन बिक्रीका लागि शोरुम पनि चाँडै सञ्चालनमा आउनेछ।

    बीवाईडीको एसिया–प्यासिफिक अटो सेल्स डिभिजनका डेपुटी जनरल म्यानेजर झाङ जी र असिस्टेन्ट जनरल म्यानेजर तथा हेड अफ आफ्टर सेल्स फेङ एरदोङले उक्त सर्भिस सेन्टरको उद्घाटन गरेका हुन्।

    भक्तपुरको मौलिक वास्तुकलाबाट प्रेरित डिजाइन

    भक्तपुरको सांस्कृतिक तथा वास्तुकलागत पहिचानलाई ध्यानमा राखेर सर्भिस सेन्टरको डिजाइन तयार गरिएको छ। बीवाईडीको अन्तर्राष्ट्रिय ब्रान्ड मापदण्डलाई स्थानीय सम्पदासँग जोड्ने उद्देश्यले यसलाई ‘बीवाईडी हेरिटेज शोरुम एन्ड सर्भिस सेन्टर’ अवधारणाअनुसार विकास गरिएको कम्पनीले जनाएको छ।

    सेन्टरले स्थानीय सांस्कृतिक पहिचानको सम्मान गर्दै ग्राहकलाई परम्परागत बिक्री तथा सर्भिसिङ केन्द्रभन्दा फरक अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ। यहाँबाट ग्राहकले सवारीसाधन खरिददेखि नियमित मर्मतसम्भारसम्मका सेवा एउटै स्थानमा प्राप्त गर्न सक्नेछन्।

    डल्लुमा अर्को सर्भिस सेन्टर निर्माण हुँदै

    भक्तपुरको सर्भिस सेन्टर उद्घाटनकै दिन काठमाडौंको डल्लुमा नयाँ बीवाईडी सर्भिस सेन्टर निर्माणका लागि शिलान्यास गरिएको छ। यस परियोजनाले काठमाडौं उपत्यकामा कम्पनीको बिक्रीपछिको सेवा क्षमता विस्तार गर्ने अपेक्षा गरिएको छ।

    शिलान्यास कार्यक्रममा बीवाईडी एसिया–प्यासिफिक अटो सेल्स डिभिजनका डेपुटी जनरल म्यानेजर झाङ जी, असिस्टेन्ट जनरल म्यानेजर तथा हेड अफ आफ्टर सेल्स फेङ एरदोङ, दक्षिण एसिया क्षेत्रका हेड अफ आफ्टर सेल्स लिउ सियाओफेङ तथा साइमेक्स इंकका चेयरम्यान अनिल श्रेष्ठ, म्यानेजिङ डाइरेक्टर यमुना श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ सहभागी थिए।

    डल्लुमा निर्माण हुने नयाँ सेन्टरले काठमाडौं उपत्यकाका बीवाईडी ग्राहकलाई मर्मतसम्भार तथा प्राविधिक सेवा थप सहज रूपमा उपलब्ध गराउन सहयोग पुग्ने कम्पनीको अपेक्षा छ।

    बिक्रीपछिको सेवामा विशेष जोड

    विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै जाँदा दक्ष प्राविधिक जनशक्ति, सक्कली स्पेयर पार्ट्स र भरपर्दो मर्मतसम्भार सेवाको आवश्यकता पनि बढ्दै गएको छ। यसैलाई ध्यानमा राख्दै साइमेक्स इंकले नेपालमा बीवाईडीको सर्भिस पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ।

    भक्तपुरमा नयाँ थ्रीएस सेन्टर सञ्चालनमा आउनु र डल्लुमा अर्को सर्भिस सेन्टर निर्माण सुरु हुनुले कम्पनीको बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्ने योजनालाई थप गति दिएको छ।

    कम्पनीले आफ्नो ‘सुपेरियर एन्ड सिन्सियर सर्भिस’ अर्थात् उत्कृष्ट र इमानदार सेवा प्रदान गर्ने अवधारणाअनुसार ग्राहकलाई सवारीसाधनको स्वामित्व अवधिभर सहज, व्यवस्थित र भरपर्दो सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।

    विश्वव्यापी अनुभव, स्थानीय लगानी र ग्राहककेन्द्रित दृष्टिकोणलाई एकीकृत गर्दै साइमेक्स इंकले नेपालमा विद्युतीय सवारीसाधनको विकासका लागि आवश्यक पूर्वाधार विस्तार तथा बीवाईडीको अन्तर्राष्ट्रिय सेवा मापदण्डअनुरूप ग्राहक अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar