साउदीको तेल कम्पनी अरामको मुख्यालयमा मिसाइल प्रहार

  • कालिका खवर
  • बुधबार, अशोज २८, २०८३
  • काठमाडौं । साउदी अरेबियाको राष्ट्रिय तेल कम्पनी अरामकोको पूर्वी सहर धरानस्थित मुख्यालयमा मिसाइल प्रहार भएको छ । मिसाइल प्रहार हुँदा भवनमा आगलागी भएको साउदी अधिकारीहरूले बताएका छन् ।

    तेल कम्पनी अरामको प्रशासनिक भवनलाई लक्षित गरी यमनका हुथी विद्रोहीले आक्रमण गरेका हुन् । साउदी ऊर्जा मन्त्रालयका अनुसार अरामको कम्प्लेक्सभित्रको एउटा भवनमा लागेको आगो नियन्त्रणमा लिइएको छ । घटनामा कुनै मानवीय क्षति नभएको मन्त्रालयले जनाएको छ ।

    साउदी प्रेस एजेन्सी (एसपीए)का अनुसार मंगलबार भएको आक्रमणपछि लागेको आगो नियन्त्रणमा लिइएको छ ।

    रोयटर्ससँग कम्पनीका एक स्रोतले एउटा बलिस्टिक क्षेप्यास्त्र कार्यालय भवनको माथिल्लो तलामा ठोक्किएको बताएका छन् ।

    अरामको कम्प्लेक्स कम्पनीको प्रमुख सञ्चालन केन्द्र हो । अरामको विश्वकै ठूला तेल उत्पादकमध्ये एक हो ।

    यस आक्रमणको केही घण्टाअघि साउदी अधिकारीहरूले राजधानी रियाधसहित विभिन्न क्षेत्रमा प्रहार गरिएका क्षेप्यास्त्रहरूलाई हवाई रक्षा प्रणालीमार्फत आकाशमै निष्क्रिय पारेको बताएका थिए ।

    यसअघि हुथीहरूले साउदी अरेबियाका तेल पूर्वाधारलाई ‘वैध सैन्य निशाना’ घोषणा गर्दै त्यहाँ कार्यरत कर्मचारी र सर्वसाधारणलाई तत्काल ती क्षेत्र खाली गर्न चेतावनी दिएका थिए ।

    हुथी प्रवक्ता याह्या सारेईले यस्तो चेतावनी साउदी नेतृत्वको गठबन्धनले यमनको राजधानी सानास्थित हुथी नियन्त्रित ‘यमन आयल कम्पनी’को अल–सबाह केन्द्रीय इन्धन केन्द्र खाली गर्न दिएको आदेशको जवाफमा दिएको बताए । उनले सानामाथि हुने कुनै पनि आक्रमणको बदला रियादमा ‘कडा र पीडादायी’ प्रहार गरेर लिइने चेतावनी दिएका थिए । डीडब्ल्यू र अलजजिरा 

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar