अन्तरदेशीय प्रसारण लाइनका लागि नेविप्रको तीन अर्ब लगानी, नेपाल–भारत दुवै देशमा संयुक्त कम्पनी स्थापना

  • कालिका खवर
  • शुक्रबार, मंसिर ५, २०८२
  • काठमाडौं। नेपाल विद्युत् प्राधिकरण (नेविप्र) ले दुई अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि स्थापना हुन लागेका संयुक्त कम्पनीहरूमा कुल तीन अर्ब रुपैयाँ बराबरको लगानी गर्ने भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार प्राधिकरण र भारतको पावर ग्रीड कर्पोरेसन अफ इन्डिया लिमिटेडबीच संयुक्त कम्पनी गठनका लागि आवश्यक लगानी स्रोत सुनिश्चित गरिएको छ।

    मन्त्रालयका सचिव चिरञ्जीवी चटौतका अनुसार नेपालतर्फ स्थापना हुने संयुक्त कम्पनीमा प्राधिकरणले एक अर्ब रुपैयाँ बराबरको स्वपुँजी लगानी गर्नेछ भने भारतमा स्थापना हुने कम्पनीमा दुई अर्ब रुपैयाँको पूँजी लगानी हुनेछ।

    इनरुवा–पूर्णिया र दोदोधारा–बेरेली ४४० केभी क्षमताका अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि नेपाल र भारतका उच्च अधिकारीबीच यसअघि नै संयुक्त कम्पनी स्थापना गर्ने सहमति पुगेको थियो। विद्युत् आदानप्रदानका लागि अत्यन्त महत्त्वपूर्ण मानिएका यी प्रसारण लाइन सन् २०३० भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ।

    संयुक्त कम्पनीको संरचनाअनुसार, नेपालतर्फ दर्ता हुने कम्पनीमा नेपाल विद्युत् प्राधिकरणको ५१ प्रतिशत र पावर ग्रीड कर्पोरेसन अफ इन्डिया लिमिटेडको ४९ प्रतिशत सेयर रहनेछ। यस्तै, भारततर्फ स्थापना हुने कम्पनीमा भारतीय कम्पनीको ५१ प्रतिशत र प्राधिकरणको ४९ प्रतिशत सेयर रहनेछ।

    नेपालमा स्थापना हुने कम्पनीमा प्राधिकरणको लगानी आन्तरिक स्रोतबाट हुने मन्त्रालयले जनाएको छ। विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ को दफा ३ को उपदफा २ बमोजिम भारतमा स्थापना हुने संयुक्त कम्पनीमा लगानीका लागि आवश्यक छुट पनि प्रदान गरिएको सचिव चटौतले बताए। मन्त्रिपरिषद्को निर्णयअनुसार सूचना राजपत्रमा प्रकाशित गरिएको मन्त्रालयले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar