अहिलेको परिस्थितिमा संयम र एकता आवश्यक : प्रधानमन्त्री

  • कालिका खवर
  • शुक्रबार, माघ २, २०८२
  • काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान विशिष्ट परिस्थितिमा संयमित र एकताबद्ध भएर अगाडि बढ्न आवश्यक रहेको बताएकी छन् । माघी पर्वका अवसरमा थारु कल्याणकारिणी सभाले बिहीबार काठमाडौँको टुँडिखेलमा आयोजना गरेको माघी महोत्सवमा बोल्दै प्रधानमन्त्री कार्कीले मौलिक चाडपर्वले आपसी सम्मान, एकता, सद्भाव र सहअस्तित्व बलियो बनाउने बताइन् । उनले अहिलेको परिस्थितिमा समाज थप संयमित र एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याइन् ।

    सांस्कृतिक पर्वको मर्म आत्मसात् गर्दै समाजमा शान्ति, सहानुभूति, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सरकार, समुदाय र नागरिक सबैले आ-आफ्नो स्थानबाट सक्रिय भूमिका खेल्नुपर्नेमा उनले जोड दिइन् । प्रधानमन्त्री कार्कीले थारु समुदायको मौलिक संस्कृति, भाषा र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा सरकार सधैँ प्रतिबद्ध रहेको धारणा राखिन् । अरूले पाएको सुविधा जस्तै थारु समुदायले पनि आफ्नो सुविधा पाउनुपर्नेमा सरकार सजग रहेको उनको भनाइ छ ।

    ‘थारु कला संस्कृति हाम्रो पहिचान, यसलाई संरक्षण र संवर्द्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवमा थारु खानाका परिकार, प्रदर्शनी तथा बिक्री गरिएको थियो । महोत्सवमा थारु सीप र हस्तकला, पुस्तक प्रदर्शनीका साथै मघौटा, सखिया, झुम्रा, छोक्रा, दिन्नचुवा, रागनी, बडोनाच, होरी, झर्रा, लठ्हवा र मुग्रंहवा जस्ता थारु सांस्कृतिक नृत्य तथा गीत प्रस्तुत गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar