धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट को हुन ?

  • कालिका खवर
  • शुक्रबार, असार ५, २०८३
  • काठमाडौँ। सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूँजी बजारको नियामक निकायको नेतृत्व सम्हाल्ने जिम्मेवारीसहित उनलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो। डा. भट्ट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टका दाजु हुन्।

    कैलालीको धनगढी उपमहानगरपालिका–५, हसनपुर स्थायी घर भएका डा. भट्ट हाल काठमाडौँको टोखा नगरपालिका–७, आदर्श कालोनीमा बसोबास गर्दै आएका छन्। उनीसँग नेपाल राष्ट्र बैंकमा करिब तीन दशकको विशिष्ट सेवा अनुभव रहेको छ। राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट अवकाश प्राप्त गरेका भट्ट मौद्रिक नीति, वित्तीय क्षेत्र नियमन, सरकारी ऋण व्यवस्थापन तथा समष्टिगत आर्थिक अनुसन्धानका अनुभवी विज्ञका रूपमा परिचित छन्।

    प्राज्ञिक रूपमा पनि पूँजी बजारकै विषयमा स्थापित व्यक्तित्व रहेका डा. भट्टले सन् २००९ मा त्रिभुवन विश्वविद्यालयबाट ‘नेपालको शेयर बजारको सक्षमता’ विषयमा विद्यावारिधि (पीएचडी) गरेका छन्। उनले यसअघि एमबीए र बीबीए अध्ययन पूरा गर्नुका साथै २५ वर्षभन्दा बढी समय विभिन्न शैक्षिक संस्थामा वित्तीय व्यवस्थापन, लगानी विश्लेषण र कर्पोरेट फाइनान्स विषय अध्यापन गरेका छन्।

    नेपाल राष्ट्र बैंकमा रहँदा उनले अनुसन्धान, बैंक सुपरीवेक्षण, सार्वजनिक ऋण व्यवस्थापन, वित्तीय व्यवस्थापन तथा मानव संसाधन व्यवस्थापनजस्ता महत्त्वपूर्ण विभागहरूको नेतृत्व गरेका थिए। मौद्रिक नीति निर्माण, उपभोक्ता मूल्य सूचकांक विकास तथा वित्तीय क्षेत्र सुधार कार्यक्रममा उनको उल्लेखनीय योगदान रहेको छ। साथै, पूँजी बजार तथा पूर्वाधार विकास आयोजनामा सदस्यका रूपमा पनि उनले काम गरिसकेका छन्।

    नियामक भूमिकामा आउनुअघि डा. भट्टले सानिमा क्यापिटल लिमिटेड र नेपाल एसबीआई बैंक लिमिटेडमा स्वतन्त्र सञ्चालकका रूपमा कार्य गरेका थिए। सार्वजनिक ऋण व्यवस्थापन कार्यालय तथा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा परामर्शदाताको भूमिका निर्वाह गर्दै उनले विभिन्न नीतिगत सुधारमा योगदान दिएका छन्।

    अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ), विश्व बैंक, फेडरल रिजर्व बैंक अफ न्यूयोर्कलगायत संस्थाबाट उच्चस्तरीय तालिम प्राप्त गरेका डा. भट्टले विभिन्न देशमा वित्तीय प्रणाली र नीतिको अध्ययन गरेका छन्। लामो समयदेखि नेतृत्वविहीन अवस्थाबाट गुज्रिरहेको धितोपत्र बोर्डले अनुभवी वित्तीय विज्ञको नेतृत्व पाएको भन्दै पूँजी बजार क्षेत्रले उनको नियुक्तिलाई सकारात्मक रूपमा लिएको छ। बजार सरोकारवालाहरूले उनको अनुभव र विशेषज्ञताले नेपालको शेयर बजार सुधार तथा नीतिगत स्थायित्वमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar