आज सोल्टी होटल र साहस उर्जाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

  • कालिका खवर
  • बिहिबार, मंसिर ४, २०८२
  • काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत दुई कम्पनी—सोल्टी होटल र साहस उर्जा—को लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (मंसिर ४ गते, बिहीबार) परेको छ। आजसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका शेयरधनीले यी दुवै कम्पनीको साधारण सभामा सहभागी हुन तथा वितरण हुने लाभांश प्राप्त गर्न सक्नेछन्।

    सोल्टी होटलले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर ५ गतेदेखि २८ गतेसम्म बुकक्लोज गर्ने घोषणा गरेको छ। त्यस्तै, साहस उर्जाले मंसिर ५ गते एक दिनका लागि बुकक्लोज गर्नेछ।

    सोल्टी होटलले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १६.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यसका लागि कम्पनीले मंसिर २८ गते, आइतबार, त्रिभुवन आर्मी अफिसर्स क्लब सभामण्डप हल, टुँडिखेलमा ५१औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान १० बजे सुरू हुनेछ।

    उता, साहस उर्जाले मंसिर २४ गते, बुधबार, बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा १२औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभामा कम्पनीले चुक्ता पूँजीको २१ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.१०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

    यसका साथै सभामा गत आर्थिक वर्षमा प्रस्तावित १:१ अनुपातको शतप्रतिशत हकप्रद शेयरलाई बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको आधारमा पुनः संशोधन गरी हकप्रद निष्काशन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने तथा लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावहरू पनि प्रस्तुत गरिनेछन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar