एमालेमाथि घेराबन्दी अझै सकिएको छैन, निर्वाचनमा पनि मोर्चाबन्दी हुन सक्छ : ओली

  • कालिका खवर
  • मङ्लबार, अशोज २७, २०८३
  • काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा एमालेमाथि चौतर्फी घेराबन्दी रहेको बताएका छन् ।

    पार्टी कार्यलय च्यासलमा केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रममा उनले पार्टीमाथि भइरहेको घेराबन्दीलाई एकजुट भएर प्रतिवाद गर्नुपर्ने बताए । विगत केही वर्षदेखि एमालेमाथि घेराबन्दी हुँदै आएको उनको भनाइ छ ।

    “हाम्रो अगाडि निर्वाचन आउँदै छ र यस निर्वाचनमा पनि हामीलाई घेर्ने काम हुन सक्छ, हामीविरुद्धको घेराबन्दी सिद्धिएको छैन । यो एकदमै चालु छ अहिले पनि,” उनले भने ।

    आगामी निर्वाचनमा पनि एमालेविरुद्ध मोर्चाबन्दी हुनसक्ने उनको भनाइ छ । एमालेविरुद्ध २०७७ सालदेखि नै घेराबन्दी सुरु हुन थालेको उनले बताए । आगामी दिनमा एमालेलाई बलियो बनाउन लाग्नुपर्ने उनको भनाइ छ ।

    सामाजिक सञ्जालमार्फत एमाले पार्टी र नेताहरूको चरित्रहत्या गर्ने तथा जनतामाझ अलोकप्रिय बनाउने प्रयास जारी रहेको उनले बताए । पार्टीभित्रकै केही नेताका गलत गतिविधिका कारण थप चुनौती उत्पन्न भएको उनले बताए ।

    “केही साथीहरूलाई सम्झाउन सकिएन, केही साथीहरू अलिकति गलत धन्दामा संलग्न भइरहे । जहिले पनि पार्टीभित्र विरोध नै गरिरहने, सहमति भनेको कहिल्यै पनि नहुने त्यस्तो पनि हुन्छ ?” उनले भने, “तर, त्यस्तो केही भयो । अब हामीले ती कुरा गर्नु पनि हुँदैन, गर्न दिनु पनि हुँदैन । त्यस्तो हुन पनि हुँदैन, हुन दिनु पनि हुँदैन ।”

    नेपालको स्वाधीनता र स्वतन्त्रताको पुनर्स्थापनाका लागि आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने उनले बताए । आन्दोलनमा दमन भए प्रतिवाद गर्ने उनको भनाइ छ ।

    “गलतका विरुद्ध, अग्रगमनका लागि, न्यायका लागि, शान्तिका लागि, दमनका विरुद्ध, आन्दोलन गर्नुपर्ने हुन्छ, त्यो देशका लागि हुन्छ, त्यो जनताका लागि हुन्छ, त्यो बृहत्तर हितका लागि हुन्छ,” उनले भने ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar