मेयर रीना साहको सराहनीय पहल : दुर्गा पूजाको अवसरमा मौलापुरमा सरसफाइ अभियान सुरु

  • कालिका खवर
  • शनिबार, अशोज २४, २०८३
  • रौतहट । दुर्गा पूजाको अवसर पारेर रौतहटको मौलापुर नगरपालिकामा नगर सरसफाइ अभियान सुरु गरिएको छ। नगरप्रमुख रीना कुमारी साहको आह्वानमा चाडपर्वको समयमा नगरलाई स्वच्छ, सफा र सुन्दर बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।

    दुर्गा पूजाको विशेष अवसरमा सुरु गरिएको अभियानले नगरको सरसफाइ व्यवस्थापनलाई प्रभावकारी बनाउनुका साथै स्वच्छ वातावरणमा चाडपर्व मनाउने वातावरण तयार गर्ने अपेक्षा गरिएको छ। नगरप्रमुख साहको पहलमा सुरु भएको यस अभियानलाई स्थानीयस्तरमा सकारात्मक कार्यका रूपमा हेरिएको छ।

    चाडपर्वका समयमा बजार, सडक तथा सार्वजनिक स्थलमा मानिसको चहलपहल बढ्ने भएकाले सरसफाइको महत्त्व अझ बढ्ने गर्छ। यस्तो अवस्थामा नगरलाई सफा र व्यवस्थित राख्न सञ्चालन गरिएको अभियानले नागरिकमा सरसफाइप्रतिको चेतना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

    अभियानमा साथ र सहयोग गर्ने सम्पूर्णप्रति धन्यवाद व्यक्त गर्दै नगरप्रमुख साहले स्वच्छ, सभ्य र सुन्दर नगर निर्माणका लागि सबैको सहयोग आवश्यक रहेको सन्देश दिएकी छन्।

    यसैबीच, विजयादशमीको अवसरमा शुभकामना व्यक्त गर्दै उनले असत्यमाथि सत्य र बुराइमाथि अच्छाइको विजयको प्रतीकका रूपमा मनाइने यस पर्वले सबैको मनमा सकारात्मक परिवर्तन ल्याओस् भन्ने कामना गरेकी छन्। समाजमा विद्यमान विकृति र विसङ्गतिको अन्त्य गर्दै स्वच्छ, सभ्य र सुन्दर समाज निर्माण गर्न पर्वले प्रेरणा प्रदान गरोस् भन्ने उनको शुभेच्छा छ।

    मौलापुरमा सुरु गरिएको सरसफाइ अभियानले चाडपर्वलाई सफा र व्यवस्थित वातावरणमा मनाउने सन्देश दिनुका साथै नगरको सौन्दर्य कायम राख्न सामूहिक जिम्मेवारीबोध गराउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar