चलचित्र क्षेत्रमा विदेशी लगानी भित्र्याउने विषयमा पुनर्विचार गर्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना

  • कालिका खवर
  • सोमवार, मंसिर ७, २०८३
  • काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रमा विदेशी लगानी भित्र्याउन सक्ने सम्भावनाका बारेमा पुनर्विचार गर्न आवश्यक रहेको बताएका छन् । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सोमबार भएको चलचित्र विधेयक, २०८१ माथिको छलफलमा उनले यस्तो बताएका हुन् । हाल चलचित्र क्षेत्रमा विदेशी लगानी बन्देज गरिएको छ । २०२६ सालको अवधारणाअनुसार चलचित्रमा विदेशी लगानी निषेध गर्ने व्यवस्था गरिए पनि अब त्यसको औचित्य र वर्तमान सान्दर्भिकताबारे समीक्षा आवश्यक रहेको मन्त्री तिमिल्सिनाले बताए ।

    चलचित्र क्षेत्रको बदलिँदो स्वरूप, प्रविधि र लगानीका नयाँ सम्भावनालाई सम्बोधन गर्न सरकारले पुरानो कानुनी व्यवस्थालाई परिमार्जन गर्न लागेको उनको भनाइ छ । चलचित्रलाई केवल मनोरञ्जनको साधनका रूपमा सीमित नराखी राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउन सक्ने उद्योगका रूपमा विकास गर्नुपर्ने उनले बताए । प्रविधिको विकाससँगै चलचित्र निर्माणको विषयवस्तु, माध्यम, लगानी र सामाजिक योगदानको दायरा फराकिलो बनेको उल्लेख गर्दै उनले नयाँ कानुनले ती परिवर्तनलाई सम्बोधन गर्ने स्पष्ट पारे ।

    ‘विशेषगरी चलचित्र भनेको मनोरञ्जनको साधन मात्रै हो भन्ने पुरानो बुझाइबाट गाइडेड भएर ऐन बनेको थियो । अहिले चलचित्रमा धेरै विविधता र प्रविधिले परिवर्तन ल्याएको छ । चलचित्रकर्मी र लगानीकर्ताबाट समयसुहाउँदो कानुनी संरचना भएन भन्ने आवाज पुरानै हो,’ उनले भने, ‘चलचित्रलाई उद्योगका रूपमा विकास गर्ने भनेर सुन्न थालेको धेरै वर्ष भइसक्यो तर बोलेर मात्रै नहुने रहेछ । वैदेशिक लगानी निषेध गरिएको सूचीमा चलचित्रलाई पनि राखिएको छ । २०२६ सालको त्यो अवधारणा आज उत्तिकै सान्दर्भिक छ कि छैन ? यसका संवेदनशीलता के–के हुन् र तिनलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्नेबारे बहस गर्नुपर्छ ।’ वैदेशिक लगानीको विषय अन्य ऐनसँग पनि जोडिएकाले कानुनी मापदण्डभित्र रहेर बाटो खोल्नुपर्ने उनले बताए ।

    चलचित्र विधेयकमा चलचित्र क्षेत्रलाई सामाजिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक उद्योगका रूपमा विकास गर्ने, स्वदेशी चलचित्रको प्रवर्द्धन गर्ने र निर्माण, वितरण तथा प्रदर्शनलाई व्यवस्थित गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । विधेयकमा चलचित्र क्षेत्रको विकास, विस्तार, प्रवर्द्धन र नियमनका लागि नेपाल चलचित्र विकास बोर्ड रहने तथा बोर्डलाई स्वायत्त निकायका रूपमा स्थापित गर्ने व्यवस्था राखिएको मन्त्री तिमिल्सिनाले जानकारी दिए । बोर्डका पदाधिकारी छनोट प्रक्रिया स्वच्छ र निष्पक्ष बनाउने व्यवस्थासमेत विधेयकमा समेटिएको छ ।

    प्रस्तावित विधेयकअनुसार चलचित्र निर्माण, वितरण वा प्रदर्शन गर्न बोर्डबाट इजाजत लिनुपर्नेछ । इजाजतको अवधि, नवीकरण, संशोधन, बिक्री र हस्तान्तरणसम्बन्धी व्यवस्था पनि विधेयकमा छ । नेपालभरका चलचित्र घरमा हुनुपर्ने सेवा, सुविधा र अन्य मापदण्ड बोर्डले निर्धारण गर्नेछ । चलचित्र घर निर्माण गर्दा सम्बन्धित स्थानीय तहबाट इजाजत लिनुपर्नेछ भने मापदण्ड पालना भए–नभएको विषयमा प्रदेश सरकारको सम्बन्धित मन्त्रालयले जाँचबुझ गर्न सक्ने व्यवस्था गरिएको छ ।

    चलचित्र घरमा टिकटको विभिन्न श्रेणी र मूल्य निर्धारण गर्दा निर्माता, दर्शक र चलचित्र घरबिच समन्वय गरी प्रदेश सरकारको सम्बन्धित मन्त्रालयले तोक्ने प्रस्ताव विधेयकमा छ । यस्तै, विदेशी व्यक्ति वा संस्थाले नेपालमा विदेशी चलचित्र तथा वृत्तचित्र छायाङ्कन गर्न चाहेमा सूचना तथा सञ्चार मन्त्रालयबाट स्वीकृति लिनुपर्नेछ ।

    विधेयकमा स्वदेशी तथा विदेशी चलचित्र प्रदर्शनअघि वर्गीकरण तथा प्रमाणीकरण गर्न केन्द्रीय स्तरमा चलचित्र जाँच समिति गठन गर्ने व्यवस्था गरिएको छ । त्यसैगरी, चलचित्र घरले बक्स अफिस प्रणाली जडान गरी चलचित्र प्रदर्शन गर्नुपर्ने व्यवस्था गरिएको मन्त्री तिमिल्सिनाले बताए । उक्त प्रणालीबाट प्राप्त तथ्याङ्क चलचित्र विकास बोर्डले वास्तविक समयमा प्राप्त गर्न सक्नेछ ।

    सरकारले कुनै चलचित्रको प्रदर्शनबाट सुरक्षा तथा व्यवस्थामा प्रतिकूल असर पर्ने, सार्वजनिक शान्ति भंग हुने वा वर्गीय, क्षेत्रीय, प्रादेशिक, धार्मिक, भाषिक, सांस्कृतिक तथा जातीय आधारमा विभेद सिर्जना हुने जोखिम देखेमा प्रदर्शनमा रोक लगाउन आदेश दिन सक्ने व्यवस्था पनि विधेयकमा राखिएको छ । लैंगिक हिंसा तथा दुर्व्यवहारलाई बढावा दिन सक्ने सामग्रीको प्रदर्शन रोक्न सकिने प्रस्तावसमेत गरिएको छ । विधेयकले चलचित्र क्षेत्रको नियमनसँगै स्वदेशी चलचित्रको विकास, प्रवर्द्धन, लगानी विस्तार र व्यावसायिक सम्भावनालाई कानुनी दायरामा ल्याउने लक्ष्य राखेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar