उपभोक्ता संरक्षण ऐन उल्लङ्घन गरेको भन्दै १४ उद्योग तथा फर्मलाई कारबाही

  • कालिका खवर
  • मङ्लबार, मंसिर ९, २०८२
  • काठमाडौँ । पछिल्ला दिनमा बजार अनुगमन, निरीक्षण र कारबाही प्रक्रियालाई तीव्र पारेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता हकहितविरुद्ध क्रियाकलाप गरेको ठहर गर्दै १४ वटा उद्योग तथा फर्मलाई कारबाही गरेको छ।

    विभागका अनुसार भक्तपुरको मध्यपुरथिमिमा अवस्थित हलेसी मार्ट प्रालिलाई दुई लाख रुपैयाँ जरिवाना तथा सोही स्थानका ओम शिवशक्ति सेरामिक प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।

    अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ र दफा ३८ बमोजिम कसुर लागेको पाइएपछि सोही ऐनको दफा ३९(१) अनुसार कारबाही गरिएको हो। विभागले काठमाडौँ र भक्तपुरका विभिन्न उद्योग तथा व्यापारिक प्रतिष्ठानहरूमा एकैपटक अनुगमन गरी अनियमितता भेटिएका फर्महरूलाई जरिवाना गरेको जनाएको छ।

    पाइएको अनियमिततामा वस्तु तथा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य, नापतौल र ढाँचा मिलाउनुपर्ने प्रावधान उल्लङ्घन हुनुका साथै अनुचित व्यापारिक तथा व्यवसायजन्य गतिविधि गरेको उल्लेख गरिएको छ।

    उपभोक्ता संरक्षण ऐनको दफा ३९ अनुसार अनुगमन, निरीक्षण वा जाँचबुझका क्रममा तत्काल प्राप्त प्रमाणका आधारमा उत्पादक, ढुवानीकर्ता, सञ्चयकर्ता, पैठारीकर्ता, विक्रेता वा सेवा प्रदायकले कसुर गरेको देखिएमा निरीक्षण अधिकृतले २ लाखदेखि ३ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने प्रावधान छ।

    यसैअन्तर्गत विभागले काठमाडौँको क्षेत्रपाटीस्थित होम मेड स्पाइसेज एण्ड टी सपलाई २० हजार, गट्ठाघरस्थित जीकेएसएस इन्टरप्राइजेज प्रालिलाई १० हजार, क्षेत्रपाटीस्थित आशिष ट्रेड लिंकलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ।

    त्यसैगरी, काठमाडौँ क्षेत्रपाटीस्थित आईके सर्जिकल सप्लायर्सलाई ५५ हजार जरिवाना रकमसहित २४ घण्टाभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। टोखा-८, काठमाडौँस्थित सिटी मिनरल वाटर एण्ड बेभरेज प्रालिलाई व्यवसायसम्बन्धी कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन भनिएको छ।

    विभागले अन्य सातवटा उद्योग तथा फर्मलाई सामान्य निर्देशन जारी गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar