नेपालमा नयाँ ईभी मोडल ल्याउने तयारीमा प्रोटोन, उत्पादन क्षमता पनि दोब्बर बनाइदै

  • कालिका खवर
  • बिहिबार, जेष्ठ २१, २०८३
  • काठमाडौं । मलेसियाली अटोमोबाइल कम्पनी प्रोटोनले विद्युतीय सवारीसाधन (ईभी) उत्पादन क्षमता विस्तारसँगै नेपाली बजारमा पनि नयाँ मोडल भित्र्याउने तयारी गरेको छ। नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले हालै सार्वजनिक गरिएको प्रोटोन ई.मास सेबेन (e.MAS 7) को सफलतापछि आफ्नो ईभी पोर्टफोलियो थप विस्तार गर्ने योजना अघि बढाएको जनाएको छ।

    कम्पनीका अनुसार नेपाली बजारमा प्रोटोन ई.मास सेबेनले छोटो समयमै सकारात्मक प्रतिक्रिया प्राप्त गरेपछि विद्युतीय सवारी क्षेत्रमा थप लगानी र नयाँ मोडल ल्याउने रणनीति बनाइएको हो। जगदम्बा मोटर्सले नेपाली उपभोक्ताको बढ्दो रुचिलाई ध्यानमा राख्दै आगामी दिनमा थप आधुनिक र प्रविधियुक्त ईभी उपलब्ध गराउने तयारी गरेको जनाएको छ।

    प्रोटोनले मलेसियामा ईभीको बढ्दो मागलाई सम्बोधन गर्न तान्जुङ मालिमस्थित उत्पादन केन्द्र विस्तारका लागि ३७ मिलियन मलेसियन रिङ्गिट लगानी गर्ने घोषणा गरेको छ। कम्पनीका अनुसार सन् २०२६ को जनवरीदेखि अप्रिलसम्म ईभी बिक्रीमा ३२९ प्रतिशत वृद्धि भएको छ भने चार महिनामै ११ हजार ६ सयभन्दा बढी गाडी ग्राहकलाई हस्तान्तरण गरिएको छ। उत्पादन क्षमता विस्तारपछि वार्षिक उत्पादन ४२ हजार युनिटसम्म पुर्‍याउने लक्ष्य राखिएको छ।

    हाल नेपाली बजारमा उपलब्ध प्रोटोन ई.मास सेबेन १६० किलोवाट क्षमताको प्रिमियम इलेक्ट्रिक एसयूभी हो। यो गाडीले एनइडिसी मापदण्डअनुसार एकपटकको पूर्ण चार्जमा अधिकतम ४७५ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ। गाडीमा ३६० डिग्री सराउन्ड भ्यु क्यामेरा, उन्नत अडियो प्रणाली, आधुनिक सुरक्षा प्रविधि तथा स्मार्ट कनेक्टिभिटी सुविधाहरू समावेश गरिएको छ।

    जगदम्बा मोटर्सले निकट भविष्यमा प्रोटोन ई.मास फाइभ (e.MAS 5) पनि नेपाली बजारमा ल्याउने तयारी गरिरहेको जनाएको छ। शहरी जीवनशैली र नयाँ पुस्ताका प्रयोगकर्तालाई लक्षित गरी विकास गरिएको यो मोडल मलेसियामा सन् २०२६ को सर्वाधिक बिक्री हुने ईभीमध्ये एक बनेको कम्पनीले जनाएको छ। कम्पनीले नेपालको विद्युतीय गतिशीलता क्षेत्रलाई थप बलियो बनाउन अन्तर्राष्ट्रिय स्तरका आधुनिक ईभीहरू निरन्तर भित्र्याउने प्रतिबद्धता व्यक्त गरेको छ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar