वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन : धुब्र जिसीद्वारा सदस्य पदमा उम्मेदवारी घोषणा

  • कालिका खवर
  • शनिबार, जेष्ठ २३, २०८३
  • काठमाडौँ । वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचन नजिकिँदै जाँदा विभिन्न समूहहरू नेतृत्व चयनको तयारीमा सक्रिय बनेका छन्। संघका दुई तिहाइ पदाधिकारीहरूले सामूहिक राजीनामा दिएपछि नयाँ नेतृत्व चयनका लागि जेठ २४ गते निर्वाचन हुन लागेको हो।

    यसैबीच, सिनामंगल वैदेशिक रोजगार एकता समूहबाट धुब्र जिसीले संघको सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। उक्त समूहमा करिब २०० व्यवसायी आबद्ध रहेको र संघको साधारण सभामा निर्णायक भूमिका खेल्ने दाबी गरिएको छ।

    उम्मेदवारी घोषणा गर्दै जिसीले वैदेशिक रोजगार क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र व्यवसायीमैत्री बनाउन आफू प्रतिबद्ध रहेको बताएका छन्। उनले युवा व्यवसायीहरूको सशक्त प्रतिनिधित्व, संस्थागत सुधार र व्यवसायीबीच एकता कायम गर्ने लक्ष्यसहित आफ्नो १० बुँदे एजेण्डा सार्वजनिक गरेका छन्।

    उनको एजेण्डामा युवा व्यवसायीको प्रभावकारी सहभागिता सुनिश्चित गर्ने, नयाँ सोच र नयाँ कार्यशैलीमार्फत संघलाई गतिशील बनाउने, कुनै पनि गुट, स्वार्थ वा दबाबबाट मुक्त भएर काम गर्ने, सबै व्यवसायीलाई समान दृष्टिकोणबाट हेर्ने, एकता र सहकार्यलाई प्राथमिकता दिने तथा पूर्ण पारदर्शिताका साथ जिम्मेवारी निर्वाह गर्ने विषय समावेश छन्।

    जिसीले पद प्राप्तिभन्दा पनि व्यवसायीहरूको हकहित संरक्षण र संघको संस्थागत विकासका लागि जिम्मेवारीपूर्वक काम गर्ने आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन्। आगामी निर्वाचनले संघको भावी नेतृत्व र कार्यदिशा तय गर्ने भएकाले व्यवसायीहरूबीच चुनावी गतिविधि तीव्र बन्दै गएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar