सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा ‘कर्पोरेट मिट–२०८२’ सम्पन्न, उत्कृष्ट कर्मचारीहरू सम्मानित

  • कालिका खवर
  • सोमवार, मंसिर ८, २०८२
  • काठमाडौँ । कर्मचारीहरूको व्यक्तित्व विकास, प्रेरणा अभिवृद्धि तथा संस्थागत संस्कृतिमा रूपान्तरण ल्याउने उद्देश्यसहित सूर्यज्योति लाइफ इन्स्योरेन्सले ‘कर्पोरेट मिट–२०८२’ कार्यक्रम २०८२ मङ्सिर ५ गते लेमन ट्री प्रिमियर होटल, बुढानिलकण्ठमा सम्पन्न गरेको छ।

    कार्यक्रममा कम्पनीका अध्यक्ष केशब प्रसाद भट्टराईसहित सञ्चालक आकाश गोल्छा, चुडामणि देवकोटा, हेमन्त नहाटा, प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री, नायव प्रमुख कार्यकारी अधिकृत फर्शुराम मरासिनी तथा कम्पनीका सम्पूर्ण कर्मचारीहरूको सहभागिता रहेको थियो।

    कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले कर्मचारीको सोच, कार्यशैली, सेवागत व्यवहार तथा सुशासनमा आवश्यक पर्ने सुधारबारे विस्तृत मार्गनिर्देशन प्रदान गरे। साथै उनले कम्पनीको आगामी योजना तथा यस वर्षको मुख्य रणनीति ‘वी क्यान’ प्रस्तुत गर्दै सबै कर्मचारीले सेवा प्रवाह, कार्यशैली तथा संस्थागत सुशासनमा आवश्यक रूपान्तरण गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।

    कार्यक्रमको प्रारम्भिक सत्रमा स्पिकर डा. संजिव हुमागाईं, डा. दिनेश पन्त र मनोज भट्टराईले क्रमशः ‘प्रोफेसनल कल्चर’, ‘इमोशनल इन्टेलिजेन्स’ तथा ‘कम्युनिकेसन इफेक्टिभ’ शीर्षकमा अन्तरक्रियात्मक तालिम सञ्चालन गरेका थिए।

    त्यसक्रममा सीईओ खत्रीले कम्पनीले हरेक सूचकमा उत्कृष्टता हासिल गर्दै आएको उल्लेख गर्दै बीमितलाई अझ सहज र प्रभावकारी सेवा उपलब्ध गराउन डिजिटल ट्रान्सफर्मेसन प्रक्रियालाई थप सुदृढ बनाइने जानकारी दिए।

    कार्यक्रमको प्रमुख आकर्षणमध्ये ‘इम्प्लोई अवार्ड सेग्मेन्ट’ पनि रहेको थियो। यस अन्तर्गत ‘बेस्ट इम्प्लोई – द एक्स्ट्रा माइल’ श्रेणीमा आन्तरिक लेखापरीक्षण तथा अनुपालन विभागका अजित शर्मालाई, ‘बेस्ट इम्प्लोई – आइडिया इन्टु एक्सन’ श्रेणीमा कानुन तथा दाबी विभागका महेश अधिकारीलाई तथा ‘बेस्ट इम्प्लोई – क्रिएटिंग एन इम्प्याक्ट’ श्रेणीमा वित्त विभाग प्रमुख आशिष ज्ञवालीलाई सम्मान प्रदान गरिएको थियो। साथै ‘बेस्ट डिपार्टमेन्ट – अवार्ड अफ एक्सिलेन्सी’ अन्डरराइटिङ विभागले प्राप्त गर्यो।

    सञ्चालक समितिका अध्यक्ष केशब प्रसाद भट्टराईले कर्मचारीहरूको व्यक्तित्व विकास तथा हितका लागि समितिको निरन्तर साथ रहने उल्लेख गर्दै संस्थागत सुशासनमा कम्पनीले विशेष ध्यान दिनुपर्ने तथा बीमा प्राधिकरणले जारी गरेका नीति–नियमहरूको अनिवार्य पालना गर्नुपर्नेमा जोड दिए।

    कार्यक्रममा सहभागी कर्मचारीहरूले व्यस्त दिनचर्याबाट समय निकालेर यस्ता विकासमूलक कार्यक्रममा सहभागी हुन पाउँदा आफूहरू थप उत्साहित, आत्मविश्वासपूर्ण र पेशागत रूपमा सक्षम भएको अनुभव व्यक्त गरे।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar