पहिलो त्रैमासमै वाणिज्य बैंकबाट सरकारले पायो साढे ५ अर्ब कर

  • कालिका खवर
  • बुधबार, मंसिर ३, २०८२
  • काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरूले सरकारलाई पाँच अर्बभन्दा बढी कर बुझाएका छन्। बैंकहरूले सार्वजनिक गरेका त्रैमासिक वित्तीय विवरणअनुसार साउनदेखि असोज मसान्तसम्म कुल ५ अर्ब ७४ करोड ३६ लाख २२ हजार रुपैयाँ आयकर सरकारको राजस्वमा जुटेको देखिन्छ।

    विद्यमान कानुनी प्रावधानअनुसार बैंक तथा वित्तीय संस्थाले करपछिको नाफामध्ये १० प्रतिशत बोनस छुट्याएपछि बाँकी रकममध्ये ३० प्रतिशत आयकर तिर्नुपर्छ। गत वर्षको तुलनामा यस वर्ष पहिलो त्रैमासमा बैंकहरूको नाफा घटेकाले राजस्व संकलनमा पनि १३.९९ प्रतिशत कमी आएको वित्तीय विवरणले देखाउँछ। गत आवको पहिलो त्रैमासमा बैंकहरूले ६ अर्ब ६७ करोड ८१ लाख ५६ हजार रुपैयाँ कर तिरेका थिए।

    हाल प्रकाशित तथ्यांकअनुसार ११ वटा बैंकको आयकर घटेको छ भने दुई वटा बैंकको त तिर्नुपर्ने करसमेत ऋणात्मक देखिएको छ। यस्तै, ७ वटा बैंकले मात्र अघिल्लो आवको तुलनामा कर तिर्ने रकम बढाएका छन्। नाफा घट्दा आयकर संकलनमा आएको गिरावट यसपटक उल्लेखनीय देखिन्छ।

    समिक्षा अवधिमा सबैभन्दा बढी आयकर तिर्ने बैंक नबिल बैंक रहेको छ। नबिलले पहिलो त्रैमासको नाफाबाट ७२ करोड ५२ लाख रुपैयाँ कर बुझाएको छ। त्यसपछि ग्लोबल आइएमई बैंकले ६३ करोड ४ लाख, प्रभु बैंकले ६१ करोड ३८ लाख, प्राइम बैंकले ५४ करोड ५ लाख, एभरेष्ट बैंकले ५० करोड ५४ लाख, एनएमबि बैंकले ३९ करोड २५ लाख, कुमारी बैंकले ३७ करोड ६ लाख र हिमालयन बैंकले ३३ करोड ९३ लाख रुपैयाँ कर तिरेका छन्।

    त्यसक्रममा नेपाल बैंकले ३२ करोड ८८ लाख, स्ट्यान्डर्ड चार्टर्डले २९ करोड ६६ लाख, राष्ट्रिय वाणिज्य बैंकले २५ करोड ६६ लाख र नेपाल एसबिआई बैंकले २१ करोड ४९ लाख रुपैयाँ आयकर बुझाएका छन्। यता, सानिमा, माछापुच्छ्रे, सिद्धार्थ, लक्ष्मी सनराइज, नेपाल इन्भेष्टमेन्ट मेगा र एनआइसी एशिया बैंकले पनि ५ देखि १७ करोडसम्म कर तिरेका छन्। तर, घाटामा रहेका कृषि विकास बैंकको कर ६ करोड ८८ लाख र सिटिजन्स बैंकको १३ करोड ८६ लाख रुपैयाँ ऋणात्मक देखिएको छ, जसले ती बैंकहरू नाफामा जान अझै चुनौतीपूर्ण स्थिति रहेको संकेत गर्छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar