चन्द्रागिरीका तीन खाद्य व्यवसायमा अनुगमन, सुधार नगरे सञ्चालन गर्न नदिने चेतावनी

  • कालिका खवर
  • शुक्रबार, साउन १५, २०८३
  • काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चन्द्रागिरी नगरपालिकासँगको संयुक्त टोलीमार्फत चन्द्रागिरी क्षेत्रका तीन वटा खाद्य व्यवसायमा अनुगमन गरी विभिन्न कमजोरी भेटिएपछि सुधारका लागि निर्देशन दिएको छ। मिति २०८३/०४/१४ मा गरिएको अनुगमनमा सरसफाइ, खाद्य भण्डारण, लेबलिङ तथा खाद्य स्वच्छतासम्बन्धी मापदण्ड उल्लङ्घन भएको पाइएको विभागले जनाएको छ।

    अनुगमनका क्रममा बर्गर किंग एण्ड क्रन्ची फ्राईड चिकेन, गुर्जुधारा (चन्द्रागिरी–१) मा सरसफाइ सन्तोषजनक नरहेको, कीट नियन्त्रणको व्यवस्था अपर्याप्त रहेको, फ्रिजमा खाद्य पदार्थ अव्यवस्थित रूपमा भण्डारण गरिएको, खाद्य पदार्थ नछोपी राखिएको, कृत्रिम खाद्य रङको अनुचित प्रयोग गरिएको तथा खाना पकाउने र भाँडा धुने स्थान एउटै रहेको पाइएको छ। विभागले सबै कैफियत सुधार गरेपछि मात्र व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ भने थप अनुसन्धान चन्द्रागिरी नगरपालिकाले अघि बढाउने जनाएको छ।

    त्यस्तै, लेकाली मसला भण्डार, चन्द्रागिरी–१२ मा बिना लेबल तथा अपूर्ण लेबल भएका खाद्य पदार्थ बिक्री–वितरण गरिएको, अनुमति नलिएका खाद्य उद्योगका उत्पादन बिक्री गरिएको र मूल्य सूची नराखिएको भेटिएपछि तत्काल सुधार गर्न निर्देशन दिइएको छ।

    यस्तै, न्यु बलम्बु ट्रेडर्स, चन्द्रागिरी–१२ मा पनि सरसफाइ सन्तोषजनक नरहेको, अपूर्ण लेबल भएका खाद्य पदार्थ बिक्री गरिएको तथा कीट नियन्त्रणको व्यवस्था कमजोर रहेको पाइएपछि आवश्यक सुधार गर्न विभागले निर्देशन दिएको छ।

    विभागका अनुसार संयुक्त अनुगमनमा कुल तीन वटा खाद्य व्यवसायको निरीक्षण गरिएको हो। विभागले खाद्य व्यवसायीहरूलाई खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गर्न आग्रह गर्दै उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित विषयमा कुनै पनि लापरबाही सह्य नहुने स्पष्ट पारेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar