परिवार सुरक्षा बचत खाताअन्तर्गत १० लाख रुपैयाँको बीमा दाबी रकम हस्तान्तरण गर्दै कुमारी बैंक

  • कालिका खवर
  • शुक्रबार, साउन १५, २०८३
  • काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो परिवार सुरक्षा बचत खाता (FSB) अन्तर्गतको बीमा सुविधाअनुसार लाभग्राहीलाई १० लाख रुपैयाँ बराबरको बीमा दाबी रकम हस्तान्तरण गरेको छ।

    बैंकको गौमुल शाखामार्फत श्रीमती बना देवी बोहरालाई उक्त रकम प्रदान गरिएको हो। उनका श्रीमानको दुःखद् दुर्घटनाजन्य निधनपछि परिवार सुरक्षा बचत खातासँग सम्बन्धित बीमा दाबी प्रक्रिया पूरा भएपछि बैंकले १० लाख रुपैयाँ बराबरको बीमा दाबी रकम हस्तान्तरण गरेको जनाएको छ। यस आर्थिक सहयोगले शोकाकुल परिवारलाई कठिन परिस्थितिमा राहत पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।

    कुमारी बैंकले ग्राहकको वित्तीय सुरक्षा तथा परिवारको आर्थिक संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न बचत योजनासँग आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ। परिवार सुरक्षा बचत खाताअन्तर्गत प्रदान गरिने बीमा सुविधाले अप्रत्याशित घटनाबाट प्रभावित परिवारलाई आर्थिक राहत उपलब्ध गराउनुका साथै भविष्यप्रतिको आर्थिक सुरक्षाको भावना अभिवृद्धि गर्ने बैंकको विश्वास छ।

    विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकसम्म वित्तीय सेवा र बीमा सुरक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएका यस्ता योजनाले आर्थिक समावेशीकरणलाई थप सुदृढ बनाउने तथा आवश्यक समयमा ग्राहक र उनका परिवारलाई वित्तीय सहयोग उपलब्ध गराउने बैंकले जनाएको छ।

    विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर २८५ शाखा, ४१ विस्तार काउन्टर, ३०२ एटीएम तथा ४० शाखारहित बैंकिङ बिन्दुमार्फत लाखौँ ग्राहकलाई सेवा दिँदै आएको छ। बैंकले शहरी, अर्ध–शहरी तथा ग्रामीण क्षेत्रसम्म सहज, सुरक्षित र गुणस्तरीय बैंकिङ पहुँच विस्तार गर्दै विभिन्न निक्षेप, बीमा तथा आधुनिक बैंकिङ सेवामार्फत ग्राहकको वित्तीय सुरक्षालाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar