सामाजिक सद्भाव कायम राख्न सक्रिय हुन उद्योग वाणिज्य महासंघको आह्वान

  • कालिका खवर
  • शुक्रबार, साउन १५, २०८३
  • काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले सुनसरीको कप्तानगञ्जसहित तराईका विभिन्न क्षेत्रमा पछिल्ला दिनमा देखिएको अशान्त वातावरण, श्रृङ्खलाबद्ध घटनाक्रम र सर्वसाधारणबीच उत्पन्न तनावप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले सामाजिक सद्भाव कायम राख्न आफ्ना सबै प्रदेश महासंघ तथा जिल्ला/नगर उद्योग वाणिज्य संघहरूलाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेको छ।

    महासंघले वर्तमान तनावपूर्ण अवस्थालाई साम्य पार्दै दिगो शान्ति स्थापना गर्न सम्बन्धित सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ। साथै, मातहतका सबै प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई स्थानीय प्रशासन, राजनीतिक दल, नागरिक समाज, धार्मिक गुरु तथा स्थानीय अगुवासँग आवश्यक समन्वय गरी भाइचारा, शान्ति र सामाजिक सद्भाव कायम राख्न सक्रिय पहल गर्न निर्देशन दिएको छ।

    परिस्थितिअनुसार स्थानीय प्रशासनको अनुमति लिएर आवश्यकता भएमा सद्भाव र्‍याली आयोजना गरी शान्ति र सद्भावको वातावरण निर्माण गर्न पनि महासंघले विशेष आग्रह गरेको छ।

    महासंघका कार्यबाहक अध्यक्ष सुरकृष्ण वैद्यले जुनसुकै प्रकारका मतभेद वा असमझदारीको समाधान शान्तिपूर्ण संवाद र आपसी समझदारीबाट मात्र सम्भव हुने उल्लेख गर्दै महासंघसँग आबद्ध सबै प्रदेश महासंघ, जिल्ला/नगर उद्योग वाणिज्य संघ तथा सदस्यहरूलाई आफ्नो क्षेत्रमा सामाजिक सद्भाव कायम राख्न अग्रसर हुन अपिल गरेका छन्।

    महासंघले घटनामा ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइते सबै नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

    नेपाल सदियौँदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक एकताको उदाहरणका रूपमा रहेको स्मरण गराउँदै महासंघले कुनै पनि प्रकारको सामाजिक अशान्ति, झडप वा हिंसाले सर्वसाधारणको दैनिक जीवनसँगै उद्योग, व्यापार, लगानी र समग्र आर्थिक गतिविधिमा गम्भीर नकारात्मक असर पार्ने जनाएको छ।

    शान्ति, सामाजिक सद्भाव र आपसी विश्वास नै मुलुकको आर्थिक समृद्धि र दिगो विकासको आधार भएकाले सबै पक्षलाई संयमित, जिम्मेवार र संवादमार्फत समस्या समाधानतर्फ अग्रसर हुन महासंघले आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar