ब्रड पिकमा नेपालीसहित ४ जनाको शव फेला : दुई जनाको पहिचान

  • कालिका खवर
  • शुक्रबार, साउन १५, २०८३
  • काठमाडौँ । पाकिस्तानको ब्रड पिकमा हिमपहिरोपछि बेपत्ता भएका आरोहीहरूको खोजीका क्रममा चार वटा शव फेला परेको छ ।  खोजीका क्रममा ४ वटा शव फेला परेको अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष मेजर जनरल इरफान अरशदले बताएका छन्।

    उनका अनुसार फेला परेका शवमध्ये ओमानकी आरोही नधिरा अहमद अब्दुल्लाह अल हार्थी र नेपाली आरोही पुरबहादुर गुरुङको पहिचान भएको छ।

    बाँकी दुई शवको पहिचान हुन बाँकी रहेको छ। शव फेला परेको पुष्टि भए पनि घटनामा कति आरोहीको मृत्यु भएको हो भन्नेबारे थप विवरण आउन बाँकी छ। खोजी तथा उद्धार अभियान भने जारी रहेको छ।

    को हुन् गुरुङ ?

    युक्त भनेर चिनिने पुरबहादुर गुरुङ इन्टरनेसनल फेडरेसन अफ माउन्टेन गाइड एसोसिएसन्सबाट प्रमाणित गाइड हुन्। उनी १४ वटा हिमाल आरोहणको चुनौती पूरा गर्ने लक्ष्यको नजिक पुगेका थिए। यस चुनौतीअन्तर्गत आरोहीहरूले विश्वका ८,००० मिटरभन्दा अग्ला १४ वटै हिमाल आरोहण गर्ने प्रयास गर्छन्।

    गत वसन्त ऋतुमा मात्रै युक्तले नेपालका तीनवटा ८,००० मिटरभन्दा अग्ला हिमालहरूको सफल आरोहण गरेका थिए। सो सिजनको अन्त्यसम्ममा उनको नाममा १० पटक सगरमाथा आरोहण र १२ वटा आठ हजारी हिमालको आरोहणको रेकर्ड दर्ता भइसकेको छ।

    यसका साथै, उनी सय वर्ष पुरानो जुत्ता फेला पार्ने टोलीका सदस्य पनि हुन्। उक्त जुत्तामा ‘ए।सी। इरभिन’ लेखिएको छ। यो जुत्ता सन् १९२४ मा जर्ज मेलोरीसँगै सगरमाथामा बेपत्ता भएका बेलायती आरोही एन्ड्रयु ‘स्यान्डी’ इरभिनको भएको विश्वास गरिन्छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar