चौधरी ग्रुपले एक वर्षमै २५ अर्ब ५९ करोड कर तिरेर कूल राजस्वमा २ प्रतिशत योगदान

  • कालिका खवर
  • बुधबार, मंसिर ३, २०८२
  • काठमाडौं । चौधरी ग्रुप (सीजी) ले आर्थिक वर्ष २०८१/८२ मा सरकारलाई २५ अर्ब ५९ करोड रुपैयाँ कर तिरेर राष्ट्रको कूल राजस्वमा २ प्रतिशतभन्दा बढी योगदान पुर्‍याएको छ। राजनीतिक अस्थिरता, सुस्त आर्थिक गतिविधि र चुनौतीपूर्ण लगानी वातावरणका बीच पनि सीजीले कर योगदानमा उल्लेखनीय वृद्धि गरेको हो।

    गत आर्थिक वर्ष २०८०/८१ मा १८.५२ अर्ब कर तिरेको सीजीले यस वर्ष झण्डै ७ अर्ब रुपैयाँ बढी कर राजस्वमा दाखिला गरेको छ, जसले समूहको लगानी विस्तार तीव्र गतिमा रहेको स्पष्ट हुन्छ।

    पाँच वर्षमा ९२ अर्बभन्दा बढी कर

    चौधरी ग्रुपले पछिल्ला पाँच वर्षमा मात्रै ९२ अर्ब २६ करोड रुपैयाँ कर तिरेको छ। कमजोर आर्थिक क्रियाकलाप, आयात–निर्भर बजार संरचना, नीतिगत अस्थिरता तथा निजी लगानीमा आएका बाधाका बाबजुद पनि समूहले निरन्तर कर योगदान बढाउँदै आएको छ। समूहले यसलाई राष्ट्रका विकास योजनाहरू, सार्वजनिक सेवा, सामाजिक सुरक्षा तथा पूर्वाधार निर्माणमा राज्यलाई थप सबल बनाउन सहयोग पुर्‍याउने निष्कर्ष निकालेको छ।

    “देशको ढुकुटी मजबुत बनाउन पाउँदा गर्व लागेको छ”

    चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीका अनुसार, स्थापित तथा नयाँ व्यवसाय दुवै क्षेत्रको विस्तारमार्फत कर योगदान बढ्न मद्दत पुगेको छ।
    समाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै उनले लेखेका छन्,
    “गत वर्ष सीजीले २५.५९ अर्ब कर तिर्दै राष्ट्रको कूल राजस्वमा उल्लेखनीय योगदान गरेको छ। चुनौतीबीच पनि देशको ढुकुटी मजबुत बनाउन पाउँदा गर्व लागेको छ।”
    उनले अर्थमन्त्रीले सीजीको कर योगदान विशेषरूपमा उल्लेख गरेकोप्रति आभार समेत व्यक्त गरेका छन्।

    कर विवरण सार्वजनिक गर्ने परम्परा बलियो बनाउँदै सीजी

    नेपालमा व्यवसायिक समूहहरूले तिरेको कर अलग्गै वर्गीकृत गरी सार्वजनिक गर्ने परम्परा स्थापित नभएकाले करदाताको वास्तविक योगदानबारे जनमानसमा भ्रम उत्पन्न हुने गरेको बताइन्छ। यस्तै अवस्थालाई अन्त्य गर्दै चौधरी ग्रुपले हरेक वर्ष आफ्नो एकमुष्ट कर विवरण पारदर्शी रूपमा सार्वजनिक गर्दै आएको छ।

    समूहले विश्वास लिएको छ कि यसले व्यवसायिक क्षेत्रको राष्ट्र निर्माणमा भूमिकालाई स्पष्ट पार्नुका साथै सरकारलाई पनि समूहगत कर योगदान छुट्टै गणना गरी पारदर्शी रूपमा सार्वजनिक गर्ने संरचना विकास गर्न प्रेरित गर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar