आइएमई खल्ती लिमिटेडका नयाँ सिइओमा प्रविण रेग्मी नियुक्त

  • कालिका खवर
  • मङ्लबार, मंसिर २, २०८२
  • काठमाडौं । आइएमई डिजिटल सोलुसन र खल्ती गाभिएर २०८२ साउन १ गतेदेखि संयुक्त रूपमा कारोबार सञ्चालन गरिरहेको आइएमई खल्ती लिमिटेडले प्रविण रेग्मीलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा नियुक्त गरेको छ।

    आज बसेको सञ्चालक समितिको ११औँ बैठकले रेग्मीलाई आगामी चार वर्षका लागि सिइओ नियुक्त गर्ने निर्णय गरेको हो। निर्णय आजैदेखि लागू हुने उल्लेख गरिएको छ।

    यसअघि आइएमई डिजिटल सोलुसनका सिइओका रूपमा कार्यरत रेग्मी मर्जरपछि आइएमई खल्ती लिमिटेडको सञ्चालक समिति सदस्यका रूपमा समेत संलग्न रहँदै संस्थाको रणनीतिक नेतृत्वमा सक्रिय रहेका थिए।

    फिनटेक, बैंकिङ र डिजिटल ट्रान्सफर्मेसन क्षेत्रमा डेढ दशकभन्दा बढी अनुभव भएका रेग्मीले नेपालको डिजिटल भुक्तानी प्रणालीलाई आधुनिक, सुरक्षित र दिगो बनाउन महत्वपूर्ण योगदान दिँदै आएका छन्। डिजिटल कारोबार बढ्दै गएको र क्यासलेस अर्थतन्त्रतर्फ उन्मुख नेपालको वित्तीय यात्रामा रेग्मीले अझ महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा कम्पनीले व्यक्त गरेको छ।

    यसअघि सिइओको जिम्मेवारी सम्हाल्दै आएका विनय खड्का भने चार वर्षे कार्यकाल पूरा गरी पदमुक्त भएका छन्।

    रेग्मी पिएसपी संघ नेपालका संस्थापक अध्यक्ष समेत रहेकाले भुक्तानी सेवा प्रदायक कम्पनीबीचको सहकार्य, समन्वय तथा नीतिगत सुधारमा उल्लेखनीय भूमिका खेलेका छन्। रेग्मीको अनुभव, नेतृत्व क्षमता र नवीनताप्रिय दृष्टिकोणले आइएमई खल्तीलाई रणनीतिक उचाइमा पुर्‍याउने कम्पनीले विश्वास व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar