विश्व बाल दिवसमा गोल्याण ग्रुपद्वारा सहिद परिवारका बालबालिकाका लागि ‘किड्स प्ले–डेट’ कार्यक्रम

  • कालिका खवर
  • शुक्रबार, मंसिर ५, २०८२
  • काठमाडौं । विश्व बाल दिवसको अवसरमा गोल्याण ग्रुपले बिहीबार जेन–जी सहिद परिवारका बालबालिकालाई समर्पित ‘किड्स प्ले–डेट’ कार्यक्रम आयोजना गरेको छ। धुम्बाराहीस्थित ऊप्स नेपाल फनपार्कमा आयोजित कार्यक्रममा सहिद परिवारका बालबालिका तथा उनीहरूका अभिभावकको उत्साहपूर्ण सहभागिता रहेको थियो।

    गोल्याण ग्रुपले गत असोज २४ गते सहिद परिवारका बालबालिकाका लागि विशेष शैक्षिक वृत्ति योजना घोषणा गरेको थियो। यस योजनाअन्तर्गत हालसम्म २७ जना बालबालिकालाई कक्षा १२ सम्मको शैक्षिक खर्च व्यहोर्ने सहमति अभिभावकसँग भएको छ। बिहीबारको कार्यक्रम काठमाडौंमा रहेका ती बालबालिका तथा अभिभावकलाई लक्षित गर्दै आयोजना गरिएको थियो। सहभागी बालबालिकाले फनपार्कमा विभिन्न मनोरञ्जनात्मक तथा बौद्धिक खेलहरूमा रमाउँदै दिनभर आनन्द मनाए।

    कार्यक्रममा गोल्याण ग्रुपका प्रबन्ध निर्देशक अक्षय गोल्याणले ‘नयाँ परिवार’ का सदस्यबीच परिचय तथा आपसी सम्बन्ध अझ बलियो बनाउन कार्यक्रम आयोजना गरिएको बताए। ‘हाम्रो नयाँ परिवार साझा प्रतिबद्धता र उद्देश्यले एकताबद्ध छ,’ उनले भने, ‘जहाँ प्रत्येक बालबालिकाको अधिकारको सम्मान, कदर र संरक्षण गरिन्छ।’ उनले बालबालिकाको स्वतन्त्रता, खुसी र अवसरको अधिकार सुनिश्चित नगरी समृद्ध राष्ट्र निर्माण सम्भव नहुने पनि उल्लेख गरे।

    त्यस्तै, गोल्याण ग्रुपकी कर्पोरेट अफेयर्स एण्ड कम्युनिकेशन्स प्रमुख ज्योति गैह्रेले बालबालिकाको अधिकारको सम्मान र संरक्षणप्रति ग्रुपको प्रतिबद्धता जनाउँदै विश्व बाल दिवसकै अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको बताइन्। ‘बालबालिकाको खुसीमा उनीहरूको सर्वांगीण विकासका आयाम जोडिएका हुन्छन्,’ उनले भनिन्, ‘समृद्ध समाजको आधार पनि यहीँबाट राखिन्छ, र आजको किड्स प्ले–डेट त्यसको प्रतीक हो।’

    गोल्याण ग्रुपले सहिद परिवारका बालबालिकालाई कक्षा १२ सम्म शैक्षिक वृत्ति प्रदान गर्ने घोषणा गरिसकेको छ। पहिलो चरणमा अभिभावकसँग समझदारीपत्रमा हस्ताक्षर भईसकेको छ भने दोस्रो चरणमा विद्यालय, अभिभावक र गोल्याण ग्रुपबीच त्रिपक्षीय सम्झौता गर्ने प्रक्रिया अघि बढेको ग्रुपले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar