वीरगञ्जको लिटल बडी प्रि–स्कुलको तेस्रो वार्षिकोत्सव सम्पन्न

  • कालिका खवर
  • शुक्रबार, माघ १६, २०८२
  • वीरगञ्ज । वीरगञ्जको पानी टंकीस्थित लिटल बडी प्रि–स्कुलको तेस्रो वार्षिकोत्सव शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ। क्लासिक बंक्वेटमा आयोजित कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

    कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि कर्णले बालबालिकाको शिक्षामा पाठ्यक्रम केन्द्रित पढाइभन्दा व्यावहारिक ज्ञान र सीपमा आधारित अध्यापन बढी उपलब्धिमूलक हुने धारणा व्यक्त गर्नुभयो। उहाँले बालबालिकालाई सानै उमेरदेखि व्यवहारिक सिकाइमार्फत आत्मनिर्भर र सृजनशील बनाउनु आवश्यक रहेको बताउनुभयो।

    लिटल बडी प्रि–स्कुलले छोटो अवधिमै उल्लेखनीय उपलब्धि हासिल गरेकोप्रति बधाई व्यक्त गर्दै प्रमुख अतिथि कर्णले आगामी दिनमा पनि व्यवहारिक ज्ञान र सीपको माध्यमबाट बालबालिकाको सर्वाङ्गीण विकासमा थप योगदान गर्न सुझाव दिनुभयो।

    लिटल बडी प्रि–स्कुलका प्रिन्सिपल विजय कुमार बलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका निर्देशक तथा प्याब्सन वीरगञ्ज महानगरका अध्यक्ष राहुल श्रीवास्तव, प्रेस सेन्टर नेपाल मधेस प्रदेश अध्यक्ष नीरज पिठाकोटे, प्रेस युनियन पर्साका उपाध्यक्ष अलि असगर देवान, डा. प्रिती यादव, नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाईलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।

    कार्यक्रममा विद्यालयका बालबालिकाहरूले प्रस्तुत गरेका नृत्यलगायत सांस्कृतिक कार्यक्रमले सहभागीलाई मनोरञ्जन प्रदान गरेको थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar