इरानमाथि अमेरिकी प्रतिबन्धप्रति चीनको आपत्ति, आवश्यक कदम चाल्ने चेतावनी

  • कालिका खवर
  • बुधबार, भदौ १०, २०८३
  • काठमाडौं । अमेरिकाले इरान र उसका प्रमुख व्यापारिक साझेदारमाथि आर्थिक प्रतिबन्ध थप कडा गर्ने घोषणा गरेपछि चीनले आफ्ना राष्ट्रिय हित र अधिकारको रक्षा गर्न ‘सबै आवश्यक कदम’ चाल्ने चेतावनी दिएको छ ।

    अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमबार इरानलाई आर्थिक रूपमा अलग्याउने उद्देश्यले ‘अपरेसन इकोनोमिक आउटकास्ट’  नामको नयाँ प्रतिबन्ध घोषणा गरेका थिए । उक्त घोषणापछि बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले अमेरिकी कदमको कडा विरोध गरेका हुन् ।

    प्रवक्ता लिन जियानले संयुक्त राष्ट्र सुरक्षा परिषद्को स्वीकृतिबिना र अन्तर्राष्ट्रिय कानुनविपरीत लगाइने एकपक्षीय प्रतिबन्धहरू गैरकानुनी भएको बताएका छन् ।

    चीन र इरानबीचको व्यापारिक सहकार्य अन्तर्राष्ट्रिय कानुनको ढाँचाभित्र रहेको दाबी गर्दै उनले यस्तो सहकार्यमा कुनै पनि पक्षले हस्तक्षेप वा अवरोध गर्न नहुने चीनको धारणा स्पष्ट पारे ।

    लिनले आर्थिक युद्ध र अत्यधिक दबाबको नीतिले समस्याको समाधान नगर्ने बरु विश्वव्यापी आर्थिक तथा वित्तीय व्यवस्थामा थप अस्थिरता ल्याउने र अन्तर्राष्ट्रिय तनाव बढाउने बताएका छन् ।

    अमेरिकाले इरानबाट इन्धन खरिद गर्ने वा इरानसँग वित्तीय कारोबार गर्ने जुनसुकै देश वा संस्थालाई अमेरिकी वित्तीय प्रणालीबाट अलग्याउने चेतावनी दिएको छ । इरानी कच्चा तेलको सबैभन्दा ठूलो खरिदकर्ता चीन भएकाले नयाँ अमेरिकी प्रतिबन्धबाट दुई देशबीचको आर्थिक तथा कूटनीतिक तनाव थप बढ्न सक्ने देखिएको बीबीसीले जनाएको छ ।

    इरानका अर्थमन्त्री अली मदानीजादेले पनि अमेरिकी प्रतिबन्धको सामना गर्न इरान तयार रहेको र सरकारले दुई वर्षका लागि रणनीति तयार गरेको दाबी गरेका छन् ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच आगामी महिना हुने तय भएको शिखर वार्ताअघि अमेरिकी प्रतिबन्धको घोषणा भएको हो ।

    विश्लेषकहरूका अनुसार अमेरिकाले प्रतिबन्ध थप कडा बनाउँदै गएमा चीनले दूर्लभ खनिजको निर्यातमा कडाइ गरेर जवाफी कदम चाल्न सक्ने जोखिम रहेको छ । बीबीसी

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar