विद्युतीय तथा ऊर्जा क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनी ‘फिन इलेक्ट्रो–टेक २०२६’ आयोजना हुने

  • कालिका खवर
  • सोमवार, जेष्ठ १८, २०८३
  • काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघले विद्युतीय, इलेक्ट्रोनिक्स, ऊर्जा, सञ्चार, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा क्षेत्रको विकास, प्रविधि हस्तान्तरण, औद्योगिक प्रवर्द्धन र अन्तर्राष्ट्रिय व्यापार विस्तार गर्ने उद्देश्यसहित ट्रान्सवेल्ड ट्रान्सफर्मरद्वारा प्रायोजित ‘फिन इलेक्ट्रो–टेक २०२६’ को १२औँ संस्करण आयोजना गर्ने भएको छ। महासंघले सोमबार पत्रकार सम्मेलनमार्फत प्रदर्शनीबारे जानकारी दिएको हो।

    नेपालकै विद्युतीय तथा ऊर्जा क्षेत्रको सबैभन्दा ठूलो र प्रतिष्ठित प्रदर्शनीका रूपमा परिचित ‘फिन इलेक्ट्रो–टेक २०२६’ आगामी जेठ २२ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा सञ्चालन हुनेछ। महासंघका अध्यक्ष ले वि.सं. १९९६ देखि निरन्तर आयोजना हुँदै आएको प्रदर्शनीले नेपालमा विद्युतीय व्यवसाय, ऊर्जा प्रविधि, औद्योगिक विकास तथा नवीनतम प्रविधिको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताए।

    उनका अनुसार प्रदर्शनीले उत्पादक, आयातकर्ता, वितरक, निर्माण व्यवसायी, परामर्शदाता, इन्जिनियर, प्राविधिक, सरकारी निकाय, शैक्षिक संस्था तथा उपभोक्तालाई एउटै थलोमा ल्याएर ज्ञान, प्रविधि र व्यावसायिक अवसरको आदान–प्रदान गर्ने प्रभावकारी मञ्चको रूपमा आफ्नो पहिचान स्थापित गरेको छ। विगत तीन दशकभन्दा बढी समयदेखि सञ्चालन हुँदै आएको यो कार्यक्रमले ऊर्जा तथा विद्युतीय क्षेत्रका सरोकारवालाबीच सहकार्य विस्तारमा पनि भूमिका खेल्दै आएको महासंघको भनाइ छ।

    नेपालमा जलविद्युत् उत्पादन, विद्युत् पहुँच विस्तार, औद्योगिकीकरण तथा डिजिटल प्रविधिको प्रयोग तीव्र गतिमा बढिरहेको अवस्थामा सुरक्षित, गुणस्तरीय र आधुनिक विद्युतीय सामग्रीको प्रयोग अपरिहार्य बन्दै गएको महासंघले जनाएको छ। विद्युत् उत्पादन वृद्धि, प्रसारण तथा वितरण प्रणाली विस्तार, विद्युतीय सवारीसाधन प्रवर्द्धन तथा नवीकरणीय ऊर्जाको प्रयोगलाई प्राथमिकतामा राखिएको वर्तमान राष्ट्रिय आवश्यकता अनुरूप ‘फिन इलेक्ट्रो–टेक २०२६’ ले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

    मेला संयोजक का अनुसार हालै सार्वजनिक आर्थिक वर्ष २०८३/८४ को बजेटले ऊर्जा तथा विद्युतीय क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ। यस्ता नीतिगत लक्ष्यलाई व्यवहारमा रूपान्तरण गर्न आवश्यक सामग्री, उपकरण, प्रविधि तथा सेवाको जानकारी, प्रदर्शन र व्यवसायिक सहकार्यका लागि प्रदर्शनी प्रभावकारी साझा मञ्च बन्ने विश्वास व्यक्त गरिएको छ। प्रदर्शनीको उद्घाटन ले गर्ने आयोजकले जनाएको छ।

    यस वर्षको प्रदर्शनीमा नेपाल, भारत, चीन लगायत विभिन्न देशका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनी, उत्पादक संस्था, आयातकर्ता, वितरक तथा प्रविधि प्रदायकहरूको उल्लेखनीय सहभागिता रहनेछ। ट्रान्सवेल्ड, हेभल्स, केईआई, जनता केबल, लेजर इन्डिया, ग्रेटह्वाइट इलेक्ट्रिकल्स, ब्रिलियन्ट एलईडी, बजाज, सिमेन्स, क्रम्टन, उषा, एङ्कर, ओरिएन्ट इलेक्ट्रिक, चिन्ट, सी एण्ड एस इलेक्ट्रिक, प्राइम वायर्स लगायतका स्वदेशी तथा बहुराष्ट्रिय ब्रान्डहरूले आफ्ना नवीनतम उत्पादन, सेवा तथा अत्याधुनिक प्रविधि प्रदर्शनीमार्फत सार्वजनिक गर्नेछन्। आयोजकका अनुसार प्रदर्शनीले उद्योगी, व्यवसायी, प्राविधिक, नीति निर्माता, शैक्षिक संस्था तथा उपभोक्ताबीच ज्ञान, प्रविधि र व्यावसायिक अवसरको आदान–प्रदानका लागि महत्वपूर्ण अवसर प्रदान गर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar