उज्यालो नेपाल पार्टीद्वारा पर्साका चारै क्षेत्रमा शिक्षित युवा उम्मेदवार, युवामैत्री राजनीतितर्फ नयाँ सन्देश

  • कालिका खवर
  • मङ्लबार, माघ ६, २०८२
  • वीरगंज । देशभर राजनीतिमा युवाहरूको अर्थपूर्ण सहभागिता, नेतृत्व र जिम्मेवारीको बहस तीव्र भइरहेका बेला उज्यालो नेपाल पार्टीले पर्सा जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा शिक्षित र सक्षम युवाहरूलाई उम्मेदवार बनाएर चुनावी मैदानमा उतारेको छ। पार्टीले यसलाई पुरानो राजनीतिक संस्कार तोड्दै नयाँ नेपाल निर्माणतर्फको ठोस कदमका रूपमा लिएको जनाएको छ।

    कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल पार्टीले आज पर्साका चारै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरूको मनोनयन दर्ता गराएको हो। पार्टीका अनुसार निर्वाचन क्षेत्र नं. १ बाट ३५ वर्षीय राजकिशोर सिंह (पराग), क्षेत्र नं. २ बाट ३६ वर्षीय चार्टर्ड एकाउन्टेन्ट कृष्णमुरारी प्रजापति, क्षेत्र नं. ३ बाट ४० वर्षीय शिक्षक रामरुप साह कानु र क्षेत्र नं. ४ बाट ४० वर्षीय शिक्षक विनोद यादवले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ।

    पर्सा–१ का उम्मेदवार राजकिशोर सिंह (पराग) स्नातक तह उत्तीर्ण गरी लामो समयदेखि राजनीतिमा सक्रिय रहँदै आएका युवा नेता हुनुहुन्छ। स्थानीय तहदेखि नै जनसम्पर्क र संगठन निर्माणमा सक्रिय रहनुभएका सिंहले विकास, सुशासन र रोजगारीलाई आफ्नो प्रमुख एजेन्डा बनाएको बताउनुभएको छ।

    त्यसैगरी पर्सा–२ का उम्मेदवार कृष्णमुरारी प्रजापति उच्च शिक्षा हासिल गरेका चार्टर्ड एकाउन्टेन्ट (CA) हुनुहुन्छ। आर्थिक पारदर्शिता, वित्तीय अनुशासन र विकास योजनामा व्यावसायिक दक्षता आवश्यक रहेको भन्दै पार्टीले प्रजापतिलाई उम्मेदवार बनाएको जनाएको छ।

    पर्सा–३ र पर्सा–४ का उम्मेदवार रामरुप साह कानु र विनोद यादव दुवै शिक्षण पेशामा संलग्न रहँदै सामाजिक सेवामार्फत राजनीतिमा प्रवेश गर्नुभएको हो। शिक्षालाई विकासको आधार मानेर समाज रूपान्तरणमा भूमिका खेल्ने उद्देश्यसहित उनीहरू उम्मेदवार बनेको पार्टीको भनाइ छ।

    उज्यालो नेपाल पार्टीका नेताहरूले ठूला राजनीतिक दलहरूले वर्षौंदेखि युवा सहभागिताको कुरा गरे पनि व्यवहारमा पुरानै अनुहार र सोचलाई अघि सारिरहेको आरोप लगाएका छन्। त्यसको विकल्पका रूपमा पार्टीले शिक्षित, बौद्धिक र इमानदार युवाहरूलाई प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा उतारेर नयाँ राजनीतिक संस्कारको सुरुवात गर्न खोजेको जनाएको छ।

    पर्सा–१ का उम्मेदवार सिंहले “हामी भाषणमा मात्र सीमित हुने दल होइनौं, काम र परिणाममार्फत जनताको विश्वास जित्न चुनावी मैदानमा उत्रिएका हौं,” भन्दै पर्साबासीलाई परिवर्तनका लागि साथ दिन आग्रह गर्नुभएको छ। पार्टीले युवामैत्री, परिवर्तनमुखी र जिम्मेवार राजनीतिमार्फत पर्सा जिल्लाबाट नयाँ सन्देश दिने विश्वास व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar