उद्योगमै भविष्य देखाउने प्रेरणा: जुत्ता–चप्पल क्षेत्रका चार जेनजी उद्यमी सम्मानित

  • कालिका खवर
  • शनिबार, माघ १०, २०८२
  • काठमाडौं ।  नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघले स्वदेशमै रहेर उद्यमशीलता विकासमा उल्लेखनीय योगदान पुर्‍याएका चार जना जेनजी उद्यमीलाई सम्मान गरेको छ। संघको १२ औँ साधारणसभा तथा छैठौँ महाधिवेशनको अवसर पारेर पवन कटुवाल, यमन बास्तोला, योगेन्द्र कार्की र कल्याण न्यौपानेलाई ‘जेनजी उद्यमी सम्मान’ प्रदान गरिएको हो।

    नेपालमा अवसरको अभाव छ भन्ने धारणा व्यापक रूपमा फैलिरहेका बेला यी उद्यमीहरूले जुत्ता–चप्पल उद्योगलाई माध्यम बनाएर स्वदेशमै व्यवसाय स्थापना र विस्तार गरेका छन्। संघका अनुसार उनीहरूले सीमित स्रोतसाधन, कडा प्रतिस्पर्धा र बजारका चुनौतीबीच पनि उत्पादन बढाउँदै रोजगारी सिर्जना तथा आयात प्रतिस्थापनमा महत्वपूर्ण भूमिका खेलेका छन्।

    सम्मानित उद्यमीहरूले स्थानीय कच्चा पदार्थको प्रयोग, आधुनिक डिजाइन र बजारअनुकूल उत्पादनमा जोड दिँदै नेपाली उत्पादनको गुणस्तर र पहिचान मजबुत बनाएका छन्। उनीहरूको उद्यमशील यात्राले वैदेशिक रोजगारीतर्फ आकर्षित भइरहेका युवाहरूलाई पनि नेपालमै बसेर केही गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश दिएको संघको निष्कर्ष छ।

    संघले यस्ता सम्मान कार्यक्रमले युवा पुस्तालाई उद्योग तथा व्यवसायतर्फ आकर्षित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। साथै, स्वदेशी उद्योगको संरक्षण र प्रवर्द्धनका लागि सरकारी तथा निजी क्षेत्रको सहकार्य आवश्यक रहेकोमा पनि संघले जोड दिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar