‘रियल ड्राइभर्स वान्टेड’ ट्यागलाइनसहित फेसलिफ्टेड स्कोडा कुशाक नेपालमा सार्वजनिक

  • कालिका खवर
  • आइतवार, असार २८, २०८३
  • काठमाडौं। स्कोडा नेपालले आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई ‘रियल ड्राइभर्स वान्टेड’ ट्यागलाइनसहित सार्वजनिक गरेको छ। स्कोडा शोरुममा आयोजित विशेष कार्यक्रममा कम्पनीका उच्च पदाधिकारी, व्यावसायिक साझेदार, सञ्चारकर्मी तथा आमन्त्रित अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    नयाँ कुशाकको अनावरण एमएडब्लु ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल तथा एमएडब्लु एक्स्पान्जका प्रमुख कार्यकारी अधिकृत रौनक अग्रवालले संयुक्त रूपमा गरेका थिए। कम्पनीका अनुसार नयाँ कुशाक चार्टमा तुलना गरेर उत्कृष्ट देखिने एसयूभी मात्र नभई स्टेयरिङ समात्दा प्राप्त हुने वास्तविक ड्राइभिङ अनुभवलाई प्राथमिकता दिने चालकहरूलाई लक्षित गरी विकास गरिएको हो।

    फेसलिफ्टेड कुशाक १.० लिटर र १.५ लिटर टीएसआई इन्जिन विकल्पमा उपलब्ध छ। यसमा ८-स्पिड अटोमेटिक ट्रान्समिसन तथा डीएसजी ट्रान्समिसनको सुविधा दिइएको छ, जसले उत्कृष्ट नियन्त्रण, तीव्र प्रतिक्रिया र सहज ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ। साथै, पछाडिको सिटमा उपलब्ध मसाज सुविधाले यस सेग्मेन्टमा विरलै पाइने युरोपेली स्तरको आराम प्रदान गर्ने बताइएको छ।

    कम्पनीका अनुसार नेपालमा नयाँ कुशाक रु. ५७ लाख ९० हजार प्रारम्भिक मूल्यमा उपलब्ध हुनेछ। युरोपेली इन्जिनियरिङको विरासत बोकेको अन्तर्राष्ट्रिय ब्रान्डको एसयूभी प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराएर विश्वस्तरीय ड्राइभिङ अनुभव नेपाली ग्राहकसम्म पुर्‍याउने लक्ष्य लिइएको कम्पनीले जनाएको छ।

    स्कोडा नेपालले ‘प्रमिस अफ १२’ सेवा योजनासमेत सार्वजनिक गरेको छ। यसअन्तर्गत देशभर रहेका १२ वटा सेवा केन्द्रमार्फत वार्षिक मर्मतसम्भार सेवा उपलब्ध हुनेछ। प्रत्येक १२ महिना वा १२ हजार किलोमिटरमा केवल रु. १२ हजार को निश्चित शुल्कमा सेवा उपलब्ध गराइने र कुनै लुकेका शुल्क नहुने कम्पनीले जनाएको छ।

    कार्यक्रममा बोल्दै विष्णु कुमार अग्रवालले कुशाकले युरोपेली इन्जिनियरिङ नेपाली सडकमा ल्याए पनि नेपाली ग्राहकलाई युरोपेली मूल्य तिर्न बाध्य नबनाएको र यही नै यसको वास्तविक मूल्य भएको बताए। त्यसैगरी रौनक अग्रवालले उत्कृष्ट ड्राइभिङ अनुभव खोज्ने ग्राहकका लागि कुशाक विशेष रूपमा तयार गरिएको उल्लेख गर्दै यसको विशेषता सुन्न मात्र नभई आफैं टेस्ट ड्राइभ गरेर अनुभव गर्न सबैलाई आग्रह गरे।

    स्कोडा नेपालका अनुसार नयाँ फेसलिफ्टेड कुशाकको सार्वजनिकसँगै कम्पनीले चालक-केन्द्रित एसयूभीको रूपमा आफ्नो पहिचानलाई अझ सुदृढ बनाएको छ। उत्कृष्ट प्रदर्शन, युरोपेली इन्जिनियरिङ, आधुनिक सुविधा र आकर्षक मूल्यको संयोजनले कुशाकलाई आफ्नो सेग्मेन्टमा विशेष बनाउने विश्वास कम्पनीले व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar