रास्वपा छाडेका सन्तोष परियार जनार्दन शर्मा नेतृत्वको ‘प्रगतिशील राष्ट्रिय अभियान’मा सक्रिय हुने

  • कालिका खवर
  • शनिबार, कार्तिक २९, २०८२
  • काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका पूर्वप्रमुख सचेतक सन्तोष परियार जनार्दन शर्मा नेतृत्वको नयाँ राजनीतिक अभियानमा जोडिने भएका छन्।

    विघटित प्रतिनिधिसभामा प्रमुख सचेतक समेत रहेका परियारले रास्वपा छाडेपछि उनी शर्माको अभियानमा जोडिन लागेका हुन्। उनले आफू शर्मासहित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी र घनश्याम भुसाल नेतृत्वको पार्टीसँग मिलेर जाने बताएका छन्।

    माओवादीले गत कात्तिक १९ गते बनाएको नेपाली कम्युनिस्ट पार्टीमा नगएका पूर्वउपमहासचिव जनार्दन शर्मा पक्षका नेता–कार्यकर्ताले पूर्वसांसद सुदन किराँतीको नेतृत्वमा बिहीबार ‘प्रगतिशील राष्ट्रिय अभियान’ गठन गरेका छन्। परियार सोही अभियानमा जोडिने निर्णयमा पुगेका हुन्।

    परियारले रास्वपामा पछिल्लो समय कलह बढ्दै गएपछि छाड्नुपरेको बताएका छन्। परियारले पार्टी छोडेको पुष्टि रास्वपाका प्रवक्ता मनिष झाले गरेका छन्। परियार रास्वपाको सचिवालय सदस्य पनि थिए।

    रास्वपाको प्रतिक्रिया

    रास्वपा प्रवक्ता झाले भने, ‘विघटित प्रतिनिधि सभाको रास्वपाका प्रमुख सचेतकको जिम्मेवारीमा रहनुभएका सन्तोष परियारले कार्यवाहक सभापति तथा महामन्त्रीलाई पत्र बुझाएर पार्टी छोड्नु भएको जानकारी गराउनु भएको छ । राजनीतिमा नयाँ अभियानको साथ अगाडि बढ्ने योजनामा हुनुहुन्छ भन्ने कुरा उहाँले जानकारी गराउनु भएको छ ।’

    यसअघि रास्वपाबाट पूर्वमन्त्री सुमना श्रेष्ठ पनि बाहिरिएकी थिइन्, जसको गन्तव्य अझै टुङ्गो लागेको छैन । रास्वपाभित्र पछिल्लो समय तोषिमा कार्की र गणेश कार्कीसहितले पनि चर्को असन्तुष्टि जनाइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar