परम्परागत स्वाद जोगाउँदै अगाडि-सुमन शेरचनको‘ जोमसोम थकाली किचन’

  • कालिका खवर
  • बिहिबार, मंसिर ११, २०८२
  • काठमाडौँ । महाराजगन्जमा रहेको ‘जोमसोम थकाली किचन’ नाम सुन्नासाथ धेरैलाई सेलरोटी र थकाली परिकारको याद आउँछ।यो स्वादको पहिचान बनाउन सफल भएकी हुन सुमन शेरचन। पछिल्ला वर्षहरूमा उनले सेलरोटी र थकाली खानाको मौलिक स्वादमार्फत काठमाडौँमा छुट्टै स्थान बनाउन सफल भइसकेकी छिन्।

    म्याग्दीमा जन्मिएकी सुमनको बाल्यकाल गाउँमै बित्यो। आमाबाटै परम्परागत खाना बनाउने सीप सिकेकी उनी गाउँमा ढिकीमा कुटेर बनाइने सेलरोटीको स्वाद अहिले पनि उस्तै शैलीमा जोगाइरहेकी छिन्। काठमाडौं आएर बसोबास शुरु गरेपछि उनले यही सीपलाई व्यवसायका रूपमा अघि बढाउने निर्णय गरिन्।

    ७ वर्ष अघि सुरु गरिएको ‘थकाली किचन’ अहिले स्थानीय ग्राहकदेखि चिकित्सक, सेफ तथा दूरदराजबाट आउने खानेकुरा पारखीहरूको रोजाइका रूपमा चिनिन्छ। विशेषगरी सुमनले बनाउने सेलरोटी पोखरेली र टाइचिङ चामलको मिश्रण, मात्र घिउमा पकाइने शैली र परम्परागत विधिका कारण अत्यन्त लोकप्रिय छ। दैनिक ६०–७० पिससम्म बिक्री हुने सेलरोटी तिहारमा ६००–७०० पिससम्म पुग्छ।

    व्यवसाय सुरु गरेको केही महिना नबित्दै कोभिड–१९ ले किचनलाई ठुलो चुनौती दियो। तर सुमनले हार मानिनन्। टिकटकमार्फत सेलरोटी बनाउने प्रक्रिया शेयर गर्दै अनलाइन अर्डर सेवा सुरु गर्दा उनका परिकार पुनः चर्चामा आए। ग्राहकहरूको विश्वास र समर्थनले व्यवसाय फेरि उठ्यो।

    आज सुमन भान्सादेखि गुणस्तर–नियन्त्रणसम्म सबै जिम्मेवारी आफूले नै सम्हाल्छिन्। थकाली खाना सेट, च्याङ्ग्राको सुकुटी, मोहीसहितको परम्परागत थकाली भान्सा, यिनै कारण अहिले ‘जोमसोम थकाली किचन’ काठमाडौँमा घरघरको परिचित नाम बन्दै गएको छ।

    सुमनको मान्यता छ : “जुन काम मनले गर्छ, त्यसभन्दा मिठो अरू केही हुँदैन। धैर्य, गुणस्तर र ग्राहकसँग राम्रो व्यवहार नै व्यवसाय सफलताको मूल मन्त्र हो।”

    परम्परागत स्वाद जोगाउँदै उनले सिर्जना गरेको यो पहिचान अहिले साना उद्यमीहरूका लागि पनि प्रेरणामा बदलिँदै गएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar