शक्तिशाली र लोकप्रिय भए पनि प्रधानमन्त्रीले मनलाग्दी गर्न पाउनुहुन्न : गगन थापा

  • कालिका खवर
  • शुक्रबार, जेष्ठ ८, २०८३
  • काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाहले शक्तिशाली र लोकप्रिय छु भन्दैमा जे मन लाग्यो त्यही गर्न नपाउने बताएका छन्।

    नेपाली कांग्रेसको नीति प्रशिक्षण तथा प्रतिष्ठानको कोशी प्रदेशस्तरीय कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै सभापति थापाले सङ्ख्यामा जति नै शक्तिशाली र लोकप्रिय भएपनि संविधान, कानुन ऐन र नियममा बाँधिनुपर्ने बताए।

    ‘म शक्तिशाली छु, लोकप्रिय छु भन्दैमा जे पनि गर्न पाइन्न,’ सभापति थापाले भने, ‘प्रधानमन्त्री संविधान, कानुन र नियमले बाँधिएको हुन्छ । त्यो नियममा उहाँ रहनुपर्छ ।’

    थापाले सरकार संविधान र कानुनभन्दा बाहिर हिँडेमा कांग्रेस ज्युँदो रहेको बताए। ‘सरकार कानुनभन्दा विपरीत तरिकाले मसँग बहुमत छ भनेर हिँड्छ भने कांग्रेस ज्युँदो छ,’ थापाले भने ।

    सरकारले झोक चल्यो भन्दैमा सुकुमबासी बस्तीमा डोजर चलाउन र व्यवसायीलाई प्रहरी लगाएर उठाउन नपाउने बताए ।

    ‘मन लाग्यो झोक चल्यो भन्दैमा बिहान बिहानै सुकुमबासी बस्तीमा डोजर लगाउन पाइँदैन,’ थापाले भने, ‘ मन्त्रीलाई भेट्न मन लाग्यो भन्दैमा प्रहरी लगाएर व्यवसायीलाई उठाएर मन्त्रालयमा ल्याउन पाइँदैन ।’

    उनले यसअघिको केपी शर्मा ओली नेतृत्वको सरकारले धेरै बोलेर प्रतिपक्षीलाई हेपेको र अहिलेको सरकारले नबोलेर हेपेको बताए । ‘पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ,’ थापाले बताए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar