राप्रपा वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले दिए राजीनामा

  • कालिका खवर
  • शुक्रबार, भदौ १९, २०८३
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले पदबाट राजीनामा दिएका छन्। बागमती प्रदेशमा पार्टीको निर्णयविपरीत सरकारलाई समर्थन गरिएको घटनापछि उनले नैतिक कारण देखाउँदै राजीनामा बुझाएका हुन्।

    राप्रपा केन्द्रीय कार्यसम्पादन समितिले बागमती सरकारमा सहभागी नहुने र विश्वासको मतसमेत नदिने निर्णय गरे पनि पार्टीका सात प्रदेश सांसदले एमाले नेतृत्वको सरकारलाई विश्वासको मत दिएका थिए। त्यसपछि तीन सांसद मन्त्रीसमेत बनेका छन्।

    तामाङका भाइ डम्बर तामाङ पनि विश्वासको मत दिने सात सांसदमा छन्। यही कारण आफूलाई वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहिरहन नैतिक संकट परेको तामाङले राजीनामा पत्रमा उल्लेख गरेका छन्।

    पार्टीले निर्णय उल्लंघन गरेको भन्दै बागमती संसदीय दलका नेता उद्धव थापा तथा मन्त्रीहरू राजु विष्ट, राजेन्द्र प्रजापति र गीरबहादुर तामाङलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिसकेको छ।

    राप्रपा महामन्त्री राजेन्द्र गुरुङले तामाङको राजीनामा प्राप्त भएको पुष्टि गरे पनि हालसम्म स्वीकृत नभएको बताए। उनका अनुसार अध्यक्ष राजेन्द्र लिङदेनले निर्णय लिन वा पार्टी बैठकबाट टुंगो लगाउन सक्नेछन्।

    तामाङ राप्रपाका पुराना नेता हुन्। उनी पञ्चायतकालदेखि राजनीतिमा सक्रिय रहँदै विभिन्न समयमा सात पटक मन्त्री भइसकेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar