अमेरिका–इरान वार्तामा अझै गम्भीर चुनौती

  • कालिका खवर
  • शुक्रबार, जेष्ठ ८, २०८३
  • तेहरान : पाकिस्तानको मध्यस्थतामा भइरहेको अमेरिका र इरान बिचको वार्तामा केही प्रगति देखिए पनि अझै गम्भीर असहमति कायम रहेको बताइएको छ । तेहरानबाट रिपोर्टिङ गर्ने संवाददातालाई उद्धृत गर्दै अल जजिराले प्रकाशित गरेको समाचार अनुसार वार्ताबारे स्थिति अत्यन्तै अनिश्चित छ ।

    कहिले ठुलो प्रगति भएको खबर आउँछ भने कहिले गहिरो मतभेद अझै बाँकी रहेको विवरण सार्वजनिक हुन छाडेको छैन । इरानले अमेरिकी प्रस्तावहरू अध्ययन गरिरहेको र आफ्नो प्रतिक्रिया पाकिस्तानी मध्यस्थकर्तामार्फत पठाउने जनाएको छ । पाकिस्तानका गृहमन्त्री मोहोसिन नकवी पछिल्ला तीन दिनदेखि तेहरानमा छन् ।

    दुवै पक्षबिचको दूरी कम गर्न उनले प्रयास गरिरहेका छन् । यसैबिच पाकिस्तानका सेना प्रमुख असिम मुनिर पहिले अपेक्षित समयमा तेहरान पुगेका छैनन् । विश्लेषकहरूका अनुसार महत्त्वपूर्ण प्रगति नभएसम्म उनले भ्रमण गर्ने सम्भावना रहेको छैन ।

    वार्तामा मुख्य विषयवस्तुहरूमा गम्भीर मतभेद देखिएको छ । इरानले सबै मोर्चामा युद्ध पूर्ण रूपमा रोक्नुपर्ने पहिलो चरणको सर्त अघि सारेको छ भने अमेरिका भने युद्धलाई चरणबद्ध रूपमा अन्त्य गर्नुपर्ने पक्षमा छ ।

    इरानले होर्मुजमा आफ्नो पूर्ण सार्वभौमिकता विस्तार गर्नुपर्ने माग पनि राखेको छ । यो जलमार्ग विश्व ऊर्जा आपूर्तिको ३० प्रतिशतभन्दा बढी हिस्सा बोक्ने अत्यन्त महत्त्वपूर्ण मार्ग भएकोले अमेरिका तथा क्षेत्रीय देशहरूले यसको विरोध गरेका छन् ।

    इरानले आफ्नो रोकिएको सम्पूर्ण सम्पत्ति फिर्ता गर्नुपर्ने माग पनि गरेको छ । तर अमेरिका भने केही प्रतिशत सम्पत्ति रोकिराख्ने पक्षमा छ । साथै,अमेरिकाले तेहरानको एउटा आणविक केन्द्र बाहेक इरानका सबै आणविक केन्द्रहरू बन्द गर्नुपर्ने र ‘शून्य संवर्द्धन’ को प्रतिबद्धता दिनुपर्ने माग राखेको छ ।

    यसका अतिरिक्त, अमेरिकाले ४ सय किलोग्रामभन्दा बढी संवर्द्धित युरेनियम देश बाहिर पठाउनुपर्ने माग गरेको छ । तर इरानले यो माग अस्वीकार गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar